इमेज सहकारीका अध्यक्ष सहित ८ जना संचालकलाई यात्रा अनुमतिमा रोक

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ ८ २០८០

बागलुङ, ८ जेष्ठ – इमेज सहकारी संस्था संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको छ ।

गृहले अध्यागमन बिभागलाई पत्राचार गरेर नेपाली सहित तोकिएका ७ जनाको यात्रा अनुमति रद्द गर्न पत्राचार गरेको हो । गृहमन्त्रालयका शाखा अधिकृत परशुराम पोखरेलको हस्ताक्षरमा बिभागलाई पठाइएको उक्त पत्र सार्वजनिक भएको हो ।

केही दिनदेखि नेपाली सहित सहकारीका पदाधिकारी सम्पर्क बिहिन छन् । ढोरपाटन नगरपालिका–१ र बागलुङ नगरपालिका–२ मा कार्यालय रहेको सहकारीको अध्यक्ष समेत रहेका नेपाली भागेर बिदेश जान सक्ने भएकोले यात्रा अनुमति रद्द गराउन जिल्ला प्रशासन कार्यालयले गृहमा आग्रह गरेको थियो ।

त्रिभूवन अन्तराष्ट्रिय बिमानस्थल सहित अन्य नाकामा पनि नेपालीलाई रोक्न प्रहरी संयन्त्र समेत परिचालन भएको सहायक प्रजिअ चित्राङगत बरालले जानकारी दिनसभयो । सहकारीले एक महिना अघिदेखि तरलता अभाव भन्दै कारोबार बन्द गराएको र दैनिक बचतकर्ताले धर्ना दिने गरिरहेका छन् । सहकारीले एक अर्ब भन्दा धेरै रकम भुक्तानी दिनुपर्ने छ ।

भुक्तानी खोज्ने बचतकर्ताले गत बैसाख पहिलो सातादेखिनै सहकारीको शाखामा धाइरहेका छन् । छिटफुट रुपमा प्रति व्यक्ति ५ हजार मात्रै रकम फिर्ता दिएको सहकारीले करोडौं रुपैया“ बचत संकलन गरेको छ । १८ प्रतिशत व्याज दिने भनेपछि कतिपयले बैंकबाट रकम लिएर सहकारीमा जम्मा गरेको खुलेको छ । आइतवार बेलुकी पनि बचतकर्ताले जिल्लाप्रशासनमा पुगेर आफ्नो रकम फिर्ता गरिदिन आग्रह गरेका थिए ।

संस्थापक अध्यक्षको रुपमा नेपाली सहित सहकारीको कार्यवहाक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, संचालक चित्रबहादुर भण्डारी, सदस्य रुपा बिक र अर्का सदस्य झगबहादुर शाहीको यात्राअनुमति रद्द भएको हो ।