हिमाली जिल्ला मुस्ताङ घुम्नै पर्ने उत्कृष्ट गन्तव्यमा सूचीकृत

/ प्रकाशित मिति :
सोमबार, जेष्ठ १ २០८០

बागलुङ, १ जेष्ठ – अमेरिकी समाचार संस्था सिएनएनले गरेको सर्वेक्षण रिपोर्ट २०२३ अनुसार हिमाली जिल्ला मुस्ताङ घुम्नै पर्ने उत्कृष्ट गन्तव्यमा सूचीकृत भएको छ । सिएनएनको रिपोर्टमा दक्षिण एसियाकै घुम्नै पर्ने मध्येको एक स्थान मुस्ताङ बनेको हो ।

चीनको कोरला ढोकामा अवस्थित मुस्ताङ र यहाँको मनोरम हिमशृंखलासँगै दक्षिण भारतबीचको व्यापारलाई सहज बनाउने ट्रेकिङ ट्रेलहरुमध्ये एक मुस्ताङमा भएको सिएनएनको रिपोर्टमा उल्लेख छ । मुस्ताङको सानो सहर जोमसोम र यहाँका पर्यटक बास बस्ने रिसोर्टहरु र सदियौंदेखिका परम्परागत घरले मुस्ताङको सांस्कृतिक धरोहरलाई जीवन्त तुल्याएको छ ।

मुस्ताङलाई अन्तर्राष्ट्रिय समाचार संस्थाले पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत भएसँगै यहाँका पर्यटन व्यवसायी निकै उत्साहित भएका छन् । जोमसोमस्थित माउन्ट कैलाश होटलका प्रोपाइटर शेरबहादुर गुरुङले सिएनएनको पर्यटन रिपोर्टले मुस्ताङको पर्यटनलाई ठूलो फाइदा पुग्ने बताउनुभयो । सिएनएनको रिपोर्ट थाहा पाउँदा गौरवान्वित महसुस भएको उहाँको भनाई छ ।