दिलगंगा स्मृति कोषद्धारा सम्मान,पुरस्कार वितरण तथा काजिरोशनको “आफ्नै राग” विमोचन

/ प्रकाशित मिति :
सोमबार, बैशाख १८ २០८០

बागलुङ, १८ बैशाख – दिलगंगा प्रधान स्मृति कोषले बागलुङको शिक्षा क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान र पुरस्कार प्रदान गरेको छ ।
कोषको १५ औं स्थापना दिवशको अवसर पारेर एक कार्यक्रमको आयोजना गरी समाजको रुपान्तरणमा भूमिका खेलेको भन्दै उर्जा अर्थशास्त्रका अन्र्तराष्ट्रिय बैज्ञानिक प्राध्यापक डाक्टर राममनोहर श्रेष्ठ र शैक्षिक सम्मान बागलुङको गल्कोटमा जन्मी बुटवल लाई कर्मथलो बनाउनुभएका घनश्याम पाठक लाई प्रदान गरेको हो ।

स्वर्गिय दिल प्रसाद प्रधान र गंगादेवी प्रधानको स्मृतिमा स्थापित यो कोषको बार्षिक व्याजबाट लेखानी मावि र बिद्यामन्दिर माःवि मा उत्कृष्ट अंक ल्याउने बिद्यार्थीलाई पुरस्कार दिदै आएको कोषले जनाएको छ ।

यसबर्षको पुरस्कार गत बर्षको एसईई परीक्षामा लेखानी माविबाट उत्कृष्ट अंक ल्याउने विवेक कँडेल र विद्यामन्दिर माबि बाट उत्कृष्ट अंक ल्याउने प्रदिप कँडेल लाई जनही ५ हजार नगद सहित पुरस्कृत गरिएको कोषले जनाएको छ ।पुरस्कृत र सम्मानित सबै लाई प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र कोषका अध्यक्ष काजिरोशनले पुरस्कार र सम्मान हस्तान्त्रण गर्नुभएको थियो ।

सो अवसरमा साहित्यकार काजि रोशनको नविनतम कृति “आफ्नै राग” नामक लघुकथा समेत सार्वजनिक गरिएको छ । कृतिको बिमोचन बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले गर्नुभएको थियो । कृतिको समिक्षा गर्दै धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले रोशनको नविनतम कृति जिवन भोगाई र गराई लगायतका रोचक प्रशंगहरु समेटिएको बताउनुभयो ।

सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले बिद्यार्थी शिक्षाशेवी र बैज्ञानिक लाई पुरस्कार र सम्मान प्रदान गर्ने कार्यले कोषको गरिमा उच्च रहेको बताउनुभयो ।

कोषका अध्यक्ष काजी रोशनको अध्यक्षता, सचिव अगम पालिखेको संचालन र सल्लाहकार देब बहादुर श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्व राममनोहर श्रेष्ठ, घनश्याम पाठक, प्राज्ञ प्रेम छोटा र बरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।