धौलागिरी बहुमुखी क्याम्पसमा चैत्र १८ गतेसम्म स्ववियु निर्वाचन गर्ने तयारी

/ प्रकाशित मिति :
बिहिबार, चैत्र २ २០७९

 

बागलुङ, २ चैत्र – धौलागिरि बहुमुखी क्याम्पसले निर्धारित मितिमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गर्न नसकेपछि चैत १८ गते सम्ममा गर्ने तयारी भएको छ ।

चैत ५ को निर्वाचनको जिम्मा लिएका निर्वाचन समितिका संयोजक भक्तीराम न्यौपानेले राजिनामा दिएपछि निर्वाचन अन्यौल बनेको थियो । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले १८ गतेभित्र उचित दिन मिलाएर निर्वाचन गर्न कार्यतालिका समेत बनाइरहेको बताउनुभयो

। तत्काल निर्वाचन मिति तोक्नुपर्ने मागसहित नेपाल बिद्यार्थी संघले बुधबारदेखि नै अनसन शुरु गरेको थियो । बुधबार मध्यराती चुनावको नयाँ मितिबारे सहमती जुटेपछि विद्यार्थीले अनसन तोडेका हुन् ।

स्ववियु निर्वाचनका लागि कार्यालय खुलेपछि अखिल क्रान्तिकारीले पुरै मतदाताको नयाँ परिचयपत्र बितरण गर्नुपर्ने मागसहित तालाबन्दी गरेको थियो । उक्त मागमा क्रान्तिकारी सहितका ५ अखिलले समर्थन जनाएका थिए । सातासम्म ताला नखुलेपछि नेविसंघले तोडेको थियो । प्रशासनले वार्ता राख्दापनि दुइ पक्ष नबसेपछि तनाब सिर्जना भएर न्यौपानेले राजिनामा दिनुभएको थियो । त्यसपछि नेविसंघले निर्वाचन मिति घोषणा गर्न माग गर्दै अनसन थालेको थियो ।

क्याम्पस प्रमुख उपाध्यायले ताला लगाएका संगठनलाई वार्तामा बोलाएर निर्वाचनको दिन सम्म सबैलाई नयाँ परिचयपत्र बाँड्ने आश्वासन दिएपनि एकैपटक टेवुलमा राख्नुपर्ने माग गरेपछि वार्ता बिफल भएको थियो । अखिलले प्रशासनले फर्जी बिद्यार्थी भर्ना गरेको आरोप समेत लगाएको थियो । उपाध्यायले स्नातक तहमा प्रवेश परीक्षा पास भएका बिद्यार्थी मात्रै तोकिएको मितिमा भर्ना भएको बताउनुभयो ।

गत सोमबार बेलुकीसम्म ताला नखुलेपछि नेविसंघले क्याम्पस प्रमुख सहितलाई कार्यकक्षमा थुनेका थिए । दुइपक्ष एकै स्थानमा नबस्दा समस्या उत्पन्न भएको भन्दै प्रमुखले तत्काल दुवै पक्ष राखेर तोकिएको समयमा निर्वाचन गर्ने बताउनुभयो । २ हजार ४ सय बिद्यार्थी भएपनि धौलागिरि बहुमुखी क्याम्पसमा १ हजार ७ सय बिद्यार्थी मतदाता कामय भएका छन् ।