राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार बागलुङ आउने

/ प्रकाशित मिति :
मंगलबार, फाल्गुन ९ २០७९

बागलुङ, ९ फागुन — राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार(भोली) बागलुङ आउँदै हुनुहुन्छ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको निमन्त्रणामा उहाँबागलुङ आउन लाग्नुभएको हो ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी बुधाबार बिहान दश बजे राष्ट्रपति भण्डारीले मन्दिरमा पुजा गर्ने कार्यक्रम रहेको जानकारी गराएको हो ।

नेपालकै प्रदेशकै प्रसिद्ध शक्तिपिठ बागलुङ कालिका भगवतीको दर्शनका लागि उहाँ बागलुङ आउन लागेको गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो ।

राष्ट्रपतिको भ्रमण पछि बागलुङ कालिकाको प्रचार प्रसार थप बढ्ने भएकाले भ्रमणका लागि निम्तो दिईएको खड्काले बताउनुभयो । राष्ट्रपति भण्डारीले बागलुङ कालिकाको पहिलो पटक भ्रमण गर्न लाग्नुभएको हो ।

कार्यक्रममा सहभागी पत्रकारले राष्ट्रपतिको भ्रमणको समयमा पत्रकार लाई सहजरुपमा समाचार संकलन र फोटो भिडियो खिच्नका लागि सहज वातावरण बनाईदिन आग्रह गरेका थिए ।