महाशिवरात्रीको अबसरमा बागलुङका विभिन्न शिव मन्दिरमा भक्तजनहरुको भीड

/ प्रकाशित मिति :
शनिबार, फाल्गुन ६ २០७९

यस बर्षको महाशिवरात्रीको अबसरमा बागलुङका विभिन्न शिव मन्दिरमा भक्तजनहरुको भीड लाग्यो ।
मन्दिरमा पूजा गर्ने, भजनकृतन तथा अन्य विभिन्न गतिविधि गरेर शिवरात्री मनाउँदा हात्तिपाइले रोगविरुद्वको अभियानलाई समावेश गरिएको हो ।

बागलुङ नगरपालिका वडा नम्वर ४ उपल्लाचौरस्थित गौरीधाम शिवमन्दिरमा बिगतका २ बर्ष कोरोना महामारीका कारण सिमित रुपमा मनाएको शिवरात्रि पर्व यसवर्ष भने धुमधामका साथ मनाईएको र भक्तजनको पनि उल्लेखनिय उपस्थिीति रहेको व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बहादुर जिसीले बताउनुभयो । भक्तजनको बाक्लो उपस्थिीतिका बिच गौरीधाम शिवमन्दिरमा हात्तिपाइले रोगबिरुद्ध गित र भजन सहित शिवरात्री मनाइएको जिसीले बताउनुभयो ।

नगर स्वास्थ्य शाखाको सहयोग तथा राष्टिय लोकदोहोरीप्रतिष्ठान बागलुङले लोक भजन प्रस्तुत गर्दै हात्तिपाइले रोग निको पार्न अनिवार्य रुपमा औषधि सेवन गर्नुपर्ने सन्देश दिइएको थियो । त्यस्तै, ब्रम्हकुमारी इश्वरीय विश्व विद्यालयमा आयोजित ८७ औं शिवरात्री समारोहमा पनि हात्तिपाइले रोग बिरुद्धको औषधि खानुपर्ने सन्देश दिइएको जिल्ला स्वास्थ्य कार्यालय बागलुका प्रमुख प्रविण शर्माले बताउनुभयो ।

शिवरात्रीको प्रवचन तथा धार्मिक कार्यक्रममा हातिपाइलेबारे जानकारी दिइएको हो । सो अवसरमा बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले हात्तिपाइले बिरुद्धको अभियानबारे जानकारी गराउनुभएको थियो । धार्मिक क्षेत्रका मानिसले औषधि नखाएको धेरै पाइएको खनालको भनाई थियो । सहरी क्षेत्रका, ठूला र अग्ला घरमा बस्नेहरुले औषधि नखाएकोले बागलुङ नगरसहित जिल्लामै हात्तिपाइलेका बिरामी बढीरहेको तथ्यांक छ ।

खनालका अनुसार, बागलुङ नगरपालिकाभित्र मात्रै झण्डै ८० जना हात्तिपाइलेका संक्रमित रहेका छन् । सबै धार्मिक स्थलमा सचेतना फैलाइएको हात्तिपाइले बिरुद्धको औषधि सेवन फागुन १० गतेदेशि शुरु हुनेछ । यो अभियानमा अनिवार्य औषधि खान सबै पक्षले आग्रह गरेका छन् । फागुन ११ गते टोलटोलमा खुवाइने कार्यक्रम पनि छ ।

यो पटक सुरक्षाकर्मी जस्तै सबै शिवमन्दिरमा पुगेर भक्तजनलाई हात्तिपाइले रोग बिरुद्दको औषधि सेवन गरिदिन आग्रह गरिएको जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताउनुभयो । अन्य धार्मिक आस्था राख्नेले पनि औषधि सेवनमा आनाकानी गरेपछि धार्मिक गुरुमार्फत औषधि खानका लागि आग्रह गर्न लागिएको शर्माले जानकारी दिनुभयो ।

गौरीधाममा पुर्जाअर्चनाका लागि पुगेका भक्तजनको स्वास्थ्य अवस्था लाई मध्यनजर राखेर नेपाल रेडक्रश सोसाईटी बागलु शाखाले हेल्थ डेक्स समेत राखेको थियो । बर्तालु भक्तजनको स्वास्थ्य अवस्था लाई मध्यनजर गरेर हेल्थ डेक्स राखिएको नेपाल रेडक्रस सोसाईटीका सभापति जगन्नाथ आचार्यले बताउनुभयो ।

यसैबिच ब्रम्हाकुमारी ईश्वरिय विश्वबिद्यालय बागलुङ र काँठेखोला गाँउपालिका ५ स्थित त्रिपुरेश्वर महादेव मन्दिर परमानन्द सन्यास आश्रम बिहुँरामकोटमा पनि भजन कृतन सहित भव्य रुपमा शिवरात्रि मनाईएको व्यवस्थापन समितिका उपाध्यक्ष गौरीशंकर शर्मा सुबेदीले जानकारी दिनुभयो ।