दाङमा कूसुण्डा जातिलाई बेवास्ता, भोट माग्न जादैनन् उम्मेद्वार

/ प्रकाशित मिति :
बुधबार, कार्तिक ३០ २០७९

बागलुङ, ३० कार्तिक – चुनावी मैदानमा उत्रेका उम्मेदवारबीच दौडधुप छ । मतदाताको घरदैलोमा पुग्न भ्याइनभ्याइ छ। तर, उम्मेदवारहरूले दाङका वनराजाका रूपमा रहेका कुसुन्डाहरूलाई वास्तै गर्दैनन्। उनीहरूको घरदैलोमा भोट माग्न पनि जाँदैनन्।

कुसुन्डा आदिवासी जनजातिमा सूचीकृत छन्। दाङ जिल्लाको क्षेत्र नं १ र २ मा रहेका कुसुन्डाको घरदैलोमा हालसम्म उम्मेदवारहरू गएका छैनन्। लमही नगरपालिका–६ कुलमोहर र घोराही उपमहानगरपालिकाका विभिन्न वडामा गरेर झन्डै १ सय जना कुसुन्डा बसोबास गर्दै आएका छन्।

‘हामीलाई हेर्ने दृष्टिकोण नै फरक छ। यहाँ कुनै पनि उम्मेदवार भोट माग्न कहिल्यै आउँदैनन्,’ घरमै भेटिएका धनबहादुर ‘वनराजा’ कुसुन्डाले भन्नुभयो , ‘हाम्रो जनसंख्या थोरै छ । त्यहीँ भएर हेपेका होलान् नि ! जब एउटै भोटले पनि उत्तानो पर्छन्। त्यतिबेला सम्झन्छन्। प्रतिस्पर्धीलाई कहिल्यै कमजोर सम्झनु हुँदैन।’ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उम्मेदवारहरू भोट माग्न नआएकामा उहाँले दुखेसो पोख्नुभयो ।

२०४८ सालको जनगणनाअनुसार, २ सय ६४ जना कुसुन्डा थिए। २०५८ सालमा जनसंख्या घटेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ। २०५८ सालको जनगणनाअनुसार, कुसुन्डाको जनसंख्या १ सय ६४ थियो। २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार, नेपालमा कुसुन्डा जातिको जनसंख्या २ सय ७३ छ। जसमध्ये दाङ जिल्लामा ९८ जना छन्। ५० जना महिला र ४८ जना पुरुष भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।