मानवसेवा आश्रम बागलुङको नयाँ बन्ने भवन शिलान्यास

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
शनिबार, बैशाख २५ २០७८

बागलुङसहित धौलागिरिका खुला आकास, सडक र गुफामा बस्ने मानिसलाई एउटै छानोमुनि ल्याउने गरी चार वर्षअघि मानवसेवा आश्रम स्थापना भएको थियो ।
बागलुङमा एक संस्थाको जीर्ण घरलाई मर्मत गरेर राखिएको आश्रममा अहिले ४५ जना सडकबाट उठाइएका मानिस बस्छन् । अपांग, वृद्ध, रोगी र सहाराबिहिन उनीहरुलाई दानमुठी उठाएर खुवाउने गरिएको छ ।
आश्रमको घर बनाएर सुबिधासम्पन्न र व्यवस्थित रुपमा राख्ने योजनाका लागि आश्रमका केन्द्र र जिल्लाका संचालकले थालेको निरन्तरको अभियानले सफलता पाउन थालेको छ । मानवसेवा आश्रमको आफ्नै भवन बनाउने काम सुरु भएको हो । शुक्रबार बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले आश्रमको भवन शिलान्यास गरे । बागलुङ नगरपालिका वडा नं. ४ को निरयघाटमा भवन शिलान्यास गरिएको हो ।
यो भवन बनेपछि आश्रमको कार्यालय त्यहीं सार्ने योजना संचालक सुमिरा लामाले सुनाइन् । पटक पटकको आग्रह र सबैको चासोपछि निरयघाटको जमिन नगरपालिकाको अगुवाईमा उपलब्ध गराइएको हो । यहाँस्थित पञ्चगुठीको जमिनमध्ये ५ रोपनी जमिन आश्रमका लागि दिइएको हो । उक्त जग्गामा ३ तले भवन निर्माण गरिनेछ । आश्रममा पार्किङ, खेलमैदान, खेतीपातीका लागि करेसाबारी समेतको व्यवस्थापन गरिने उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर खड्का (शिव)ले बताए । पहिलो चरणमा गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ अनुदान दिएको उनले बताए ।
चालु वर्षको बजेटबाट गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ दिएपछि उपभोक्ताको तर्पmबाट २० लाख लगानी गरेर ७० लाख रुपैयाँमा भवन निर्माण गरिने योजना छ । समितिका अनुसार ७ करोडको लागतमा निर्माण हुने भवन बनाउन तीन बर्ष लाग्न सक्ने बताइएको छ । ‘बजेट र श्रोत जुटाउन सकेमा २ बर्षमा सक्ने भनेका छौं’, खड्काले भने, ‘कोरोना संक्रमण हटेर समयले साथ दियो भने आगामी हिउँदमा महायज्ञ लगाएर रकम सकलन गरिनेछ ।’ दुइ साताअघि लमजुङमा गरिएको महायज्ञबाट ३ करोड रुपैयाँ संकलन भएर भवन निर्माणको बाटो खुलेको छ । उक्त अभियानका लागि आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी लमजुङ पुगेका थिए ।
भवन शिलान्यास कार्यक्रममा आएका अधिकारीले नेपाललाई नै सडक मानवरहित बनाउने संकल्प पुरा गर्ने अभियानको थालनी भएको बताए । ‘प्रधानमन्त्रीले पनि यो संकल्पमा सहभागि हुनु भएको थियो, अब हामीले छिटै संकल्प पुरा गर्छौ’, अधिकारीले भने, ‘मानव जीववनको सर्वोत्तम काम भएकोले सबैको साथ र सहयोग पाइनेछ ।’
भवन शिलान्यास गर्दै नगरप्रमुख पौडेलले सडक मानवरहित बनाउने अभियानमा सबैको साथ र सहयोग मिल्ने बताए । उनले बागलुङ नगरपालिका भित्रको भवन भएपनि जिल्ला र धौलागिरी क्षेत्रकै सम्पत्ति भएकोले सबैबाट सहयोग जुटाउन सुझाव पनि दिए ।
उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर खड्काको अध्यक्षता, आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीको संचालन र वडा नं. ४ का अध्यक्ष धु्रबबहादुर केसीको स्वागतमा सम्पन्न कार्यक्रममा वडा नं. २ का अध्यक्ष जीवन आचार्य र वडा नं. ९ का अध्यक्ष गणेश थापाले पनि मन्तव्य राखेका थिए ।