चीनले आफ्नै देशको खोप लगाउने नेपालीलाई मात्र भिसा दिने

/ प्रकाशित मिति :
बुधबार, चैत्र ४ २០७७

बागलुङ, ४ चैत्र – नेपालको छिमेकी राष्ट्र चीनले आफ्नो देशमा निर्मित खोप लगाएका नेपालीहरुलाई मात्रै भ्रमणका लागि भिसा दिने नीति लिएको छ ।
काठमाडौंस्थित चिनियाँ दुतावासले विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो । चीन र विदेशी राष्ट्रहरुबीच सही ढंगले वैयक्तिक आदानप्रदालाई सुचारु बनाउन नेपालस्थित चिनीया दूतावासले ती भिसा आवेदकहरुलाई सहजिकरण गर्ने भएको छ ।
चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लिएको प्रमाणपत्र सहित निवेदन दिनुपर्ने जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । तर अहिलेसम्म नेपालमा चिनीया खोप आएको छैन ।
चीनमा बनेको सिनोफार्म खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिने निर्णय नेपाल सरकारले गरेपनि ढुवानी गर्ने र लगाउने सुरसार छैन । भारतबाट आउने भनिएको खोप रोकिएपछि चीनले आफ्नो खोपलाई प्रयोगमा ल्याउन दबाब दिएको अर्थमा हेरिएको छ ।
चीन जाने यात्रुको अनिवार्य कोभिड नेगेटिभ सर्टिफिकेट पेश गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, चीनमा पुगेपछि क्वारेन्टाइनमा रहनुपर्ने पनि जनाइएको छ । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप दिने घोषणा गरिसकेको छ ।