बञ्जी र स्वीङका लागि आन्तरिक पर्यटकको भिड

धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति :
आइतबार, मंसिर ७ २០७७

संसारकै सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने कालीगण्डकी नदीको खोँचमा बञ्जी र स्वीङका लागि आन्तरिक पर्यटकको भिड लाग्न थालेको छ ।
पर्वतको सदरमुकाम कुश्मा बजार र बागलुङको बलेवा क्षेत्र जोड्ने गरी निर्माण सम्पन्न भएको एसियाकै अग्लो बञ्जी जम्पमा अहिले पालो कुरेरै मज्जा लिनेहरुको भिड लाग्न थालेको हो ।
विगतका समयमा अग्ला पुलहरु अवलोकनकै लागि पर्वतसम्म आउने पर्यटकहरु अहिले बञ्जी जम्पलाई प्राथमिकतामा राखेर आउन थालेका छन् । पाँच वर्षभन्दा बढी समय लगाएर कालीगण्डकी नदीमाथि निर्माण सम्पन्न भएको दुई सय २८ मिटर अर्थात सात सय ४८ फिट अग्लो बञ्जी जम्पले पर्यटनलाई महत्वपूर्ण टेवा पु¥याएको छ ।
कोभिड १९ को महामारीमा पनि देशका विभिन्न स्थानबाट बञ्जी जम्प गर्न र स्वीङ खेल खेल्नकै लागि पर्वतमा आउने गरेका छन् । हेर्न आउनेहरुको भीड पनि उत्तिकै हुने गरेको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो ।
निर्माण कम्पनीले बञ्जी मात्रै नभएर एड्भेञ्चर परियोजनाका रुपमा विश्वकै अग्लो स्वीङ, स्काइ साइकलिङ, गुलेली पिङ र रिसोर्ट समेत सञ्चालनमा ल्याएको अध्यक्ष कार्कीले बताउनुभयो । निर्माण कम्पनीले यस पुलबाट हुने साहसिक खेललाई विश्वकै दोश्रो अग्लो स्थानबाट हुने खेलको रुपमा समेत दाबी गर्दै आएको छ ।