म्याग्दीमा उत्पादन भएका सुन्तला बोटमै सुक्न थाले

धौलागिरी एफ.एम. संवाददाता, बागलुङ / प्रकाशित मिति :
शुक्रबार, मंसिर ५ २០७७

रोग तथा किराको प्रकोपका कारणले गर्दा यसवर्ष हिमाली जिल्ला म्याग्दीमा उत्पादन भएका सुन्तला बोटमै सुक्न थालेका छन् ।
बोटभरी लटरम्मै पाकेका सुन्तला टिपेर खाने समय नजिकिँदै गर्दा सुन्तलाको बोटसहित सुकेपछि किसानहरु चिन्तित भएका छन् । सुन्तलाको बोटले भार थेग्नै नसक्ने अवस्थामा टेको लगाएर उत्पादन गरिएको सुन्तला नगद हात पार्ने बेलामा बिग्रिएपछि किसान चिन्तित भएका हुन् ।
सुन्तला बिक्री गरेर घर खर्च चलाउँदै आएका किसानहरुको बोटमा पहेंलपुर हुने सुन्तला औंसा किराले नष्ट गरेको गुनासो गरेका छन् । बेनी नगरपालिका–३, भकिम्लीको हल्लेगौंडाका कर्णबहादुर रोकाले बारीमा फलेको सुन्तलाको बोट सुकेको बताउनुभयो ।
नयाँ र पुरानो बोट सुक्ने र पाकेको सुन्तला नटिप्दै झरेर रित्तो हुन थालेको बताउँदै कृषक रोकाले बोट सुक्ने तथा सुन्तला टिप्ने समयमा बोटबाटै सुन्तला झर्ने क्रम नरोकिएको गुनासो गर्नुभयो ।
दुई दशकदेखि व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएकी भकिम्ली राखुकी अगुवा सुन्तला उत्पादक कृषक मनकुमारी पुनले सुन्तला बारीमा दैनिक रुपमा फलेको फल झर्न थालेपछि समस्यामा परेको बताउनुभयो ।
यसपटक मनसुनको समयमा अत्यधिक वर्षाले क्षति पु¥याएको हुँदा सुन्तलाको बोटमा विभिन्न किसिमका रोग, किराको प्रकोप देखा पर्न थालेपछि उत्पादनमा करिब ५० प्रतिशत गिरावट आउने देखिएको भन्दै उहाँले गुनासो गर्नुभयो ।