पहिरो पीडितलाई संघ सरकारको छ लाख राहत

धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति :
बुधबार, असोज १४ २០७७

बागलुङको जैमिनी नगरपालिकाका पहिरो पीडितका लागि संघीय सरकारको तर्फबाट ६ लाख रुपैयाँ राहत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयले पहिरोमा मृत्यु भएका परिवारको लागि राहत रकम उपलव्ध गराएको हो ।
गत भदौको पहिरोमा परि कुश्मीशेराको टुनिबोटमा दुई जना र बिनामारेका एक जनाले ज्यान गुमाएका थिए । मृतक ६४ वर्षिया लक्ष्मी पौडेल, ६९ वर्षिय हरिकृष्ण पौडेल र ६० वर्षिया जालपादेवी पौडेलको परिवारलाई राहत रकम उपलव्ध गराईएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।
टुनिबोटका दुई परिवारको लागि जिल्ला विपत् व्यवस्थापन समितिले १५ हजार यसअघिनै उपलव्ध गराईएको र बिनामारेका एक परिवारका लागि त्यो रकम समेत थप गरेर २ लाख १५ हजार रुपैयाँ उपलव्ध गराईएको न्यौपानेले जानकारी दिनुभयो ।
जैमिनीमा दुई दिनको पहिरोमा ९ घर पुरिएका थिए । अहिले पनि सबै परिवार आफन्तकोमा आश्रय लिएर बसेका छन् । नगरभरि झण्डै एक सय घर परिवार पहिरोका कारण विस्थापित हुने अवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरी प्रसाद शर्माको भनाई छ ।