मगर संघ गण्डकी प्रदेशको प्रथम अधिवेशन तयारी तिव्र

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

बागलुङ बजारमा हुने नेपाल मगर संघ गण्डकी प्रदेशको ऐतिहासिक प्रथम अधिवेशनको तयारीलाई तिव्रता दिइएको छ ।
संघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि यही पुस २७ र २८ गते बागलुङ बजारमा हुने प्रादेशिक स्तरको प्रथम सम्मेलनलाई ऐतिहासिक रुपम सम्पन्न गर्ने गरि तयारी तिव्र पारिएको जनाएको छ ।
अधिवेशनको गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको नेपाल मगर सघंका केन्द्रिय सदस्य तथा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । मगर समुदायको अधिक बसोबास रहेको बागलुङबाट पहिलो प्रदेश सम्मेलन गरेर फरक सन्देश दिने गरि अतिथी, प्रतिनिधि व्यवस्थापन, प्रचार प्रसार लगायतको तयारी तिव्र पारिएको उहाँको भनाई छ ।
अधिवेशनले ५५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । केन्द्रिय सदस्य बुढाका अनुसार, गण्डकी प्रदेशका १० जिल्लाका ७४ वटा स्थानिय तहवाट २ सय ४० भन्दा बढी मगर संघका प्रतिनिधि बागलुङ आउनेछन् । प्रदेशका मनाङ जिल्ला बाहेक अन्य १० जिल्लामा रहेको समितिबाट ३ जना, त्यस अन्र्तगत रहेका स्थानीय तहमा गठित समितिबाट एक पुरुष र एक महिला तथा प्रदेश स्तरको मगर भुपु सैनिक सघं र महिला सघंबाट २÷२ जना प्रतिनिधित्व गर्ने संघले जनाएको छ ।
अधिवेशनमा गण्डकी प्रदेशका मगर समुदायको झाँकी र बिभिन्न संस्कृति समेत प्रर्दशन गरिनेछ । नेपाल मगर सघं जिल्ला समिति बागलुङको आतिथ्यतामा हुने अधिवेशनको आवास तथा खानाको सबै खर्च स्थानीय रुपमा व्यवस्थापन गरिने मगर संघ बागलुङका अध्यक्ष गणेश थापा मगरले बताउनुभयो । अधिवेशनमा ७ लाख बढी खर्च हुने अनुमान गरिएको छ । जसका लागि जिल्लाका १० वटै स्थानिय तह, सामाजिक सघं संस्था, उद्योगी व्यवसायी लगायत सँग सहयोगका लागि आग्रह गरिएको छ । कार्यक्रमको सञ्चालन श्यामबहादुर पुनले गर्नुभएको थियो ।