बागलुङमा यस बर्ष सुन्तला उत्पादनमा कमी

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, पुस १५, २०७५

बागलुङ जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ ।

विगत वर्षको तुलनामा बागलुङमा खेति गर्ने क्षेत्र बढे पनि त्यसको अनुपातमा सुन्तला उत्पादनमा कमी देखिएको छ ।

सुन्तला फूल खेल्ने बेलामा असिना परेका कारण सुन्तला उत्पादनमा गिरवाट आएको कृषकहरुले बताएका छन् ।

असिनाले फूल र बटिला झारेका कारण यस वर्ष सुन्तला उत्पादन कम भएको काठेखोला गाउँपालिका—६ बिहुँका लिलाधर कँडेलले बताउनुभयो । गतवर्ष चार लाख रुपैयाँको सुन्तला बेचेका कँडेललको बारीमा यस वर्ष साढे तीन लाख रुपैयाँ जति पर्ने सुन्तला फलेको छ । ‘अलि बाक्लो रुख भएका कारण मेरो साह्रै नोक्सान भएको छैन, फोहोर भन्दा केही घट्ने देखिएको छ,’ कँडेलले भन्नुभयो । बिहुँको धरमदास क्षेत्रमा सुन्तला उत्पादन घटेको छ भने किमबोट क्षेत्रमा तुलनात्मक रुपमा राम्रो देखिएको छ । बिहुँमा करिब तीन सय बढि किसानले सुन्तला उत्पादन गर्ने गरेका छन् । मध्यपहाडी लोकमार्ग कालोपत्रै नभईसकेका कारण पनि त्यहाँबाट उड्ने धूलोले किसान र सुन्तला खेतीलाई सास्ती दिने गरेको छ ।

विगत वर्षको तुलनामा बागलुङ नगरपालिका—८ सिगानामा पनि सुन्तला घटेको स्थानीय सुन्तला किसान रामबहादुर खड्काले बताउनुभयो । ‘अघिल्लो वर्ष मैले साढे तीन लाख रुपैयाँको सुन्तला बेचेको थिएँ, अहिले त्यती राम्रो छैन,’ खड्काले भन्नुभयो,‘अहिले त्यही साढे दुई लाख जतिको विक्री गर्न सक्छु कि भन्ने लागेको छ ।’ बागलुङ नगरपालिकाको सबै भन्दा बढि सुन्तला फल्ने सिगानामा यस पटक गत वर्ष जस्तो सुन्तला नफलेको उहाँको भनाई छ । ‘गतवर्ष भन्दा बोटहरु थपिएका छन्, सुन्तला खेति गर्ने ठाउँ बढेपछि सुन्तलाको उत्पादन पनि बढ्नुपर्ने थियो,’ उहाँले भन्नुभयो,‘अहिले त्यति राम्रो भएन । कारण उही असिनाले झारेका कारण नै हो ।’

सिगानामा एक दर्जन बढि किसानले वार्षिक एक लाख रुपैयाँ भन्दा बढिको सुन्तला विक्री गर्ने गरेका छन् । सिगानाका सबै किसानको बोटमा अहिले सुन्तला त्यती राम्रो नभएको खड्काले बताउनुभयो । असिनाबाट जोगिएका ठाउँमा भने सुन्तलाको उत्पादन राम्रो छ । जिल्लाको बिहुँको तल्लो भेगमा भने केही सन्तोष जनक रुपमा फलेको छ । ‘त्यस्तो साह्रै मारमा त परेको छैन, त्यै पनि फोहोर भन्दा केही कम सुन्तला उत्पादन भएको छ,’ बिहुँ किमबोटका किसान लोकनाथ आचार्यले भन्नुभयो, असिना त हाम्रोतिर पनि परेको हो । बाक्लो रुख भएका कारण भित्र भित्र बढि फलेको छ । बाहिरको असिनाले झा¥यो । असिना नपरेको भए निकै राम्रो सुन्तला उत्पादन हुँदो रहेछ ।’ ९ रोपनी क्षेत्रफलमा लगाएको तीन सय बोट सुन्तला रुखबाटै ठेक्कामा दिएको उहाँले भन्नुभयो, ‘मैले चार लाख ३२ हजारमा रुखैबाट सुन्तला बेचें, धादिङका ठेकेदारले हेरेर गएका छन् पुस १५ पछि आएर टिप्ने कुरा छ ।तीन लाख रुपैयाँ त मेरो खातामा आईसक्यो, बाँकी टिपेपछि दिने भन्ने कुरा भएको छ ।’
समग्र काठेखोलामा विगतको तुलनामा सुन्तला उत्पादन घटेको काठेखोला गाउँपालिका कृषि शाखा प्रमुख होमलाल न्यौपानेले बताउनुभयो । ‘हामी गतवर्ष र यो वर्षको पनि तथ्याङ्क संकलन गर्ने कार्यमा लागेका छौं,’न्यौपानेले भने,‘पोहोर जस्तो राम्रो सुन्तला फलेन भन्ने किसानहरुको गुनासो आएको छ । एकिन तथ्याङ्क आउनका लागि केही समय लाग्छ ।’

जिल्लाको जैमिनी नगरपालिकामा भने सुन्तलाको उत्पादन १२ प्रतिशत जति बढेको कृषि शाखा प्रमुख अर्जुनप्रसाद श्रेष्ठले बताउनुभयो । ‘जैमिनीको वडा नम्बर २ र ३ दमेक तथा सर्कुवामा अहिले राम्रो सुन्तला फलेको छ,’ उहाँले भन्नुभयो,‘यता त्यस्तो असिनाको समस्या भएन । अहिले भर्खर सुन्तला विक्री हुन सुरु भएको छ ।’ गतवर्ष ४० मेट्रिक टन सुन्तला फलेको जैमिनीमा अहिले अझ बढेको उहाँको भनाई छ । बागलुङमा कति सुन्तला उत्पादन भयो भन्ने एकिन नभएको कृषि ज्ञान केन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले बताउनुभयो ।