‘पाँच वर्षमा प्रदेशका सबै वार्डमा कृषि, पशु संकलन केन्द्र’

-- बागलुङ / प्रकाशित मिति : सोमवार, भदौ ११, २०७५

                                                                 पशु बिज्ञ केन्द्रको उद्घाटन गर्दै प्रदेश मन्त्री लेखबहादुर थापा ।
गण्डकी प्रदेश सरकारले पाँच वर्ष भित्र प्रदेशका सबै स्थानीय तहको प्रत्येक वडामा कृषि र पशु संकलन केन्द्र स्थापना गर्ने भएको छ ।
प्रदेश सरकारका भूमि व्यवस्था, कृष्ति तथा सहकारी मन्त्री लेखबहादुर थापाले भेटेनरी अस्पताल तथा पुश सेवा विज्ञ केन्द्र बागलुङको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
मन्त्री थापाले कृषि र पशुपालन मार्फत प्रदेशलाई समृद्ध बनाउनका लागि सरकारले विशेष योजना अघि सारेको बताए । ‘प्रदेश सरकारको मुख्य प्राथमिकता पर्यटन, उर्जासंगै कृषि र पशुपालन हो,’ उनले भने,‘कृषकहरुले उत्पादन गरेर कृषि उपज र पशुजन्य वस्तुको सहज बजार व्यवस्थापनका लागि पाँच वर्ष भित्र प्रत्येक वडामा संकलन केन्द्र बनाउने हाम्रो योजना छ । त्यसमा स्थानीय तह र वडाको साथ अपरिहार्य छ ।’
उनले तत्कालका लागि एक पालिका एक नमुना कार्यक्रम सञ्चालनका लागि सरकारले तयारी गरेको समेत सुनाए । ‘गण्डकी प्रदेश भित्रका हरेक पालिका कृषि र पशुका लागि एक नमुना कार्यक्रम सञ्चालन गर्ने योजनामा प्रदेश सरकार अगाडी बढेको छ,’ मन्त्री थापाले भने,‘त्यसका लागि प्रदेश सरकारले चार सय वटा नमुना कार्यक्रम गर्ने निर्णय गरिसकेको छ ।’ साविक पशु सेवा कार्यालयलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको रुपमा रुपान्तरण गरिएको यसले पुश सम्बन्धी सबै प्रकारका रोगको निदानका लागि काम गर्ने उनको भनाई छ । ‘हामीले यसलाई अस्पताल र विज्ञ केन्द्रको रुपमा विकास गरेका छौं,’ उनले थपे,‘यसले अध्ययन अनुसन्धानसंगै जनशक्तिको पनि उत्पादन गर्नेछ । पशुमा लाग्ने सबै प्रकारका रोगको उपचारका लागि काम गर्नेछ ।’
प्रदेश सरकारले स्वस्थ पशुपँक्षी मात्र भित्र्याउनका लागि सिमानामा क्वारेनटाईन चेकपोष्ट स्थापना गर्ने तयारी थालेको समेत उनले सुनाए । मन्त्री थापाले जिल्लामा कार्यालय स्थापना गरेर स्थानीय तहको अधिकारलाई कुण्ठीत गर्न नभई सबै स्थानीय तहसंग समन्वय गरेर अगाडी बढ्ने बताए । ‘केन्द्रीय सरकार प्रदेश सरकारको कार्यक्रम कार्यान्वयनका लागि हामीले जिल्लामा कार्यालय स्थापना गरेका छौं, त्यसले स्थानीय तहसंगको समन्वयमा कार्यक्रम कार्यान्वयन गर्छ,’ उनले भने । गण्डकी प्रदेशमा पैंतीस सय सहकारी संस्थामा ६५ अर्ब पुँजी रहेको र त्यसलाई कृषि पशुपालनमा उपयोग गर्ने गरी सहकारी ऐन बनाउन लागिएको समेत उनले जानकारी गराए । ‘हामी दुग्द विकास ऐन तयार पारेका छौं, सहकारी ऐनको ड्राफ्ट तयार पारेका छौं,’ मन्त्री थापाले भने,‘यहाँ रहेका सहकारी संस्थाहरुको ६५ अर्ब रुपैयाँको पुँजीलाई कृषि र पशुलापन लगायत उत्पादन क्षेत्रमा लगाउने गरी ऐनको तयारी भैरहेको छ ।’
आवश्यक परेको बेला पुशपँक्षीलाई भर्ना गरेरै उपचार गर्ने गरी अस्पतालको विकास गर्ने अवधारणाका साथ अहिले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना गरिएको गण्डकी प्रदेश पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. मनबहादुर पुनले बताए । ‘यसले अध्ययन अनुसन्धान र उपचारको काम गर्नेछ, संगै नयाँ आवश्यक जनशक्तिको उत्पादन पनि गर्नेछ,’ निर्देशक पुनले भने ।