एक घर एक धारा अभियान मार्फत समस्या समाधानको माग

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, भदौ २५, २०७६

बागलुङ नगरपालिका–६ का स्थानीयले वडाभित्रको सबै वस्तीमा सहज खानेपानी सुविधा विस्तारको माग गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी बागलुङले आयोजना गरेको जनतासँग जनप्रतिनिधि’ विषयक कार्यक्रमका सहभागीले एक घर एक धारा अभियान मार्फत समस्या समाधानको माग गरेका हुन ।
अझै पनि खानेपानीको लागि सार्वजनिक धारा तथा कुँवामा लामो समयसम्म कुर्नूपर्ने, समयमा पानी नपाउने जस्ता समस्या यथावत रहेको बताउँदै स्थानीय पदम खत्रीले तत्काल समाधान गर्न जनप्रतिनिधिसँग माग गर्नुभएको थियो ।
स्थानीयको सवालको जवाफ दिँदै वडाध्यक्ष खिमराज सापकोटाले एक घर एक धारा परियोजना मार्फत खानेपानी समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले नगरपालिकाले योजना संचालन पारदर्शि ढंगबाट गरेको दावी गर्दै कुनै पनि खानेपानी योजनामा समस्या नरहेको उल्लेख गर्नुभयो ।
नेकपाका कार्यालय सदस्य लालबहादुर थापाले आफ्नो ठाउँ र क्षेत्रको विकासमा अनावश्यक राजनीति र खिचातानी गर्न नहुने बताउनुभयो । अभियानको बारेमा नेकपाका नगर कमिटी अध्यक्ष धनबहादुर परियारले जानकारी दिनुभएको थियो ।