मोदी र कर्मचारी बिच सहमति , बिद्युत उत्पादन सुचारु

-- धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति : शुक्रबार, भदौ ६, २०७६

पर्वतको कुस्मा नगरपालिका–८ चुवामा सञ्चालित १० मेघावाट क्षमताको तल्लो मोदी १ जलबिद्युत आयोजनाको प्रर्बद्धक युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड र आन्दोलनरत कर्मचारीका बिचमा सहमति भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको पहलमा भएको सर्वपक्षिय छलफलका क्रममा कर्मचारीको तलब बृद्धि, बिमा लगायतका बिषयमा आयोजना प्रर्बद्धक र कर्मचारी बिच सहमति भएको हो । सहमति पछि बन्द रहेको बिद्युत उत्पादन सुचारु भएको छ ।
सहमति अनुसार कार्यरत कर्मचारीहरुको मासिक तलबमा १२ प्रतिशतका दरमा बृद्धि गरिने भएको छ भने ७ लाख रुपैंया बराबरको दुर्घटना बिमा, १ लाख रुपैंया बराबरको स्वास्थ्य बिमा गरिने भएको छ । हरेक कर्मचारीका लागि बार्षिक ५ हजारका दरमा पोशाक भत्ता उपलब्ध गराइने छ ।
आन्दोलनरत कर्मचारीहरुले ४० प्रतिशत तलब बृद्धि, महंगी भत्ता लगायतका भत्ता रकम बृद्धि, पोशाक भत्ता, बिमा लगायतका माग राखेका थिए । श्रम ऐन अनुसार युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको कर्मचारी बिनियमावलीमा सुधार गर्ने, कार्यस्थलको सुरक्षा र कामदारको सुरक्षामा समेत ध्यान दिने सहमति भएको छ ।
कर्मचारीहरुले जोखिमपुर्ण रुपमा काम गर्दै आएको र कार्यस्थलमा पर्याप्त सुरक्षा सावधानी नअपनाईएको बिषय उठाउँदै आएका थिए ।