१५ वर्षे बालिकालाई एक वर्षदेखी बलात्कार

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

जिल्ला प्रहरी कार्यालय बागलुङले जबरजस्ती करणी आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बागलुङ नगरपालिका–७ बस्ने ५४ वर्षिय पतिराम सार्कीलाई सोही स्थानकी १५ वर्षिय एक बालिकालाई जबरजस्ती करणीको आरोपमा बुधबार पक्राउ गरेको हो ।

सार्कीले विगत एक वर्षदेखि नै बालिकालाई विभिन्न प्रलोभनमा पारी पटक पटक शारीरिक सम्पर्क राख्दै आएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

रातको समय बालिकालाई कोठाको ढोका खोल्न लगाई जबरजस्ती गर्न लागेको समयमा गाउँलेहरुले सार्कीलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । विगतमा सहमतिमै शारीरिक सम्पर्क भए पनि उमेर हदको कारण जबरजस्ती करणीमा मुद्दा चल्ने प्रहरी उपरीक्षक भट्टको भनाई छ ।
यसैबीच, प्रहरीले लागु औषध सहित एक युवालाई पक्राउ गरेको छ ।

प्रहरीले बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कात घरभई हाल बानपा–२ हल्लनचोक डेरा गरी बस्ने १८ वर्षिय सुदिन छन्त्याललाई लागु औषध सहित पक्राउ गरेको हो ।

बानपा–२ श्रीनगरटोलमा शंकास्पद अवस्थामा रहेका छन्त्याललाई नियन्त्रणमा लिएर खोज तलास गर्दा उनको साथबाट डाईजोपाम २ एम्पुल, फेनरागत २ एम्पुल र नुर्फिन २ एम्पुल फेला परेको बताइएको छ ।