ढोरबराह मन्दिरमा जनैपुर्णिमा पर्व

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

बागलुङको प्रसिद्ध धार्मिक स्थल ढोरबराह मन्दिरमा जनैपुर्णिमा पर्वको अवसरमा सयौँ दर्शनार्थीले मन्दिरको दर्शनसँगै पुजा आर्चना गरेका छन् ।
ढोरबराह मन्दिरमा दर्शन तथा पुजा पाठ गरेमा मनोआकांक्षा पुरा हुने जनविश्वासका कारण बागलुङ जिल्ला सहित गुल्मी, प्युठान, रुकुम, रोल्पा, म्याग्दी, पाल्पा, बुटवल काठमान्डौ लगाएत देशका विभिन्न स्थानबाट आएका दर्शनार्थीले मन्दिरको दर्शनसँगै सयौँ भेँडाको बली चढाएका हुन् ।
मन्दिर व्यवस्थापन समितिका अनुसार बिहिबार बिहान ४ बजेदेखि दर्शनाथीहरुलाई लाइनमा लगाएर पुजापाठ गर्न दिइएको हो । बिहानदेखि सुरु गरिएको पुजापाठमा ढोरबराह मन्दिरमा मात्रै ५ सय ४२ र उक्त मन्दिर नजिकै रहेको सुल्ठान मन्दिरमा करिब ८० गरी ६ सय २२ भन्दा बढि भेँडाको बली दिइएको बताइएको छ ।
केही वर्ष पहिले ५÷६ हजार रुपैयाँ पर्ने भेडाको मुल्य वृद्धि भएपछि पछिल्लो समय १० हजार देखि १५ हजार रुपैयाँ सम्ममा भेँडा विक्री हुने गरेको व्यवसायीहरुको भनाई छ ।
युवा पुत्ता भेडाबाख्रा पालन तर्फ आकर्षित हुन छोडेपछी भेँडा पाइन छोडेको र मुल्य समेत आकासिएको भेडा व्यापारी ज्ञान बहादुर अदैको भनाई छ । ढोरबराह मन्दिरमा बैसाखे पुर्णिमा र बर्ख अर्थात जनै पुर्णिमामा विशेष गरी पुजा हुने गर्दछ ।
वर्षातको समय भएका कारण जनैपुर्णिमा दर्शन गर्न जानेहरुका लागि सास्ती खेप्नुपर्ने बाध्यता अझै जारी रहेको हो । खाना र बस्नको व्यवस्थापन क्रमश सुधार हुँदै गएपनी यात्रा गर्ने यात्रुहरुलाई बढि समस्या छ ।
बुर्तिबाङ–ढोरपाटन दुरीको हिसाबले जम्मा ३६ किलोमिटर हो तर पुगेको वा फर्किएको एकोहोरो भाडा जिपमा १ हजार देखि ११ सय रुपैयाँसम्म यात्रुले तिर्न बाध्य छन् । यस्तो अवस्थामा सामान्य खर्च लिएर ढोरपाटन जानखोज्ने यात्रुलाई सवारी भाडाकै पिरलो बढि भएका कारण ढोरपाटन पुग्न कठिन हुने देखिन्छ ।