गलेश्वर मन्दिरमा साउन महिनाभर १२ लाख भेटी संकलन

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

गलेश्वरमा रहेको धार्मिक तीर्थस्थल गलेश्वर शिवालय मन्दिरमा झण्डै १२ लाख रुपैयाँ भेटी संकलन भएको छ ।
साउन महिनामा परेका चारवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरुबाट कुल ११ लाख ९८ हजार तीनसय ४० रुपैयाँ भेटी संकलन गरिएको हो ।
अघिल्लो वर्षको साउन महिनामा पनि चारवटा सोमबार परेको थियो भने १३ लाख २७ हजार चारसय ५२ रुपैयाँ भेटी सङ्कलन भएको थियो । गतभन्दा अघिल्लो आर्थिक वर्षमा भने पाँचवटा सोमबार परेको भए पनि ११ लाख ७४ हजार सातसय १५ रुपैयाँ भेटी सङ्कलन गरिएको थियो । गत वर्षको तुलनामा यसवर्ष भेटी सङ्कलनमा कमी आएको छ ।
यस वर्ष साउनको पहिलो सोमबार दुई लाख ७४ हजार एकसय ७७, दोस्रो सोमबारमा दुई लाख ९९ हजार तीनसय २२, तेस्रो सोमबार दुई लाख २९ हजार एकसय ७९ र चौथो तथा अन्तिम सोमबार तीन लाख ९५ हजार ६६२ रुपैयाँ भेटी सङ्कलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।
यस वर्ष साउनमा परेका चारवटा सोमबारमध्ये सबैभन्दा धेरै अन्तिम र सबभन्दा कम पहिलो सोमबारमा भेटी संकलन भएको क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको सङ्ख्यामा कमी आउनुका साथै भेटीसमेत कम सङ्कलन भएको हो । बर्खायाम, खेतीपातीको समय र यातायातको असुविधाका कारण अपेक्षाअनुसार भक्तजनहरु आउन नसकेको उहाँले बताउनुभयो ।
गलेश्वर मन्दिरमा पछिल्लो समय भक्तजनको सङ्ख्यामा भने वृद्धि हुँदै गएको छ । यस वर्षको साउन महिनामा म्याग्दीसहित बागलुङ, पर्वत, कास्की, रुपन्देही, नवलपरासी, चितवन, तनहुँ, काठमाण्डौ, बाँके, बर्दियालगायतका जिल्लाहरुबाट गरी झण्डै १ लाख ५० हजार भक्तजनहरुले मन्दिरको प्रत्यक्ष दर्शन गरेका छन् ।
मन्दिरमा भक्तजनहरुको सुरक्षाका लागि सीसीटीभी क्यामेरा समेत जडान गरिएको छ ।
भक्तजनबाट उठेको भेटीले मन्दिरको भौतिक पूर्वाधारको विकास तथा कर्मचारी र ज्येष्ठ नागरिकको व्यवस्थापनमा लगानी गरिने क्षेत्र विकास कोषले जानकारी दिएको छ । संकलित भेटी कोषको खातामा जम्मा गर्नुका साथै मन्दिर परिसरमा पूर्वाधार निर्माण, वृद्धाश्रम र संस्कृत पाठशाला सञ्चालनका लागि परिचालन गर्ने गरिएको कोषका सचिव माधवप्रसाद रेग्मीको भनाइ छ ।