बागलुङमा रक्षाबन्धन ग्रहण एवं स्नेहमिलन

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, साउन ३१, २०७६

पवित्रता, शान्ति, स्नेहको प्रतिक रक्षा वन्धनको पावन अवसरमा ब्रह्माकुमारी राजयोग केन्द्र (ओमशान्ति) बागलुङमा रक्षा बन्धन विशेष कार्यक्रम ‘रक्षावन्धन महोत्सव’ सम्पन्न भएको छ ।
सहभागीहरुलाई ब्रह्माकुमारी राजयोगिनी सावित्री दिदीका साथै ब्रह्माकुमारीहरु शान्ति, गीता र अनिताले राखी बाँधि दिएको ब्रह्माकुमारी स्मृतिले जानकारी दिनुभयो । सो कार्यक्रममा नगरप्रमुख पौडेल, प्रजिअ क्षेत्री, ब्रह्माकुमार योगनाथ कँडेल लगायतले रक्षा बन्धन राखीको महत्वका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य ब्रह्माकुमारी शान्तिको रहेको थियो भने कार्यक्रम सन्चालन ब्रह्माकुमारी गीताले गर्नूभएको थियो । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रहृमसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।
रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि विभिन्न शक्ति पिठ तथा, नदी किनार र मठ मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ ।


यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।
नेपालको तराईक्षेत्रमा भने दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । यसैबीच, म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको ऋखार र अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको खयरभारनी थानमा पुजाआजा र तलाउमा स्नानको लागि भक्तजनहरु पुगेका थिए ।
समुन्द्री सतहदेखि ४ हजार ६ सय ३० मिटर उचाईमा अबस्थित खयरभारनी थानमा जनैपूर्णिमाको दिन पुजाआजाको लागि अघिल्लो दिन नै भक्तजनहरु पुगेका छन् । जनैपूर्णिमाको दिन आफ्नो मनोकांक्षा लिएर नांगीबराही, भगवतीको नौलीबराही र घरम्दीको प्यारीबराही थान र तलाउमा समेत भक्तजनहरुको भिड लागेको थियो ।
रक्षा बन्धनको अवसरमा बागलुङ नगरपालिका र जैमिनी नगरपालिका तथा पर्वतका सबै स्थानीय तहले सार्वजनिक विदा दिएका थिए । त्यस्तै, जनैपूर्णिमाको दिन मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा तिर्थालुको घुँइचो लाग्यो । हिन्दू तथा बौद्ध धर्मालम्बी त्यहाँ पुग्छन् ।
मुक्तिनाथ मन्दिर विहानैदेखि दर्शनके भीड लागको थियो। मुक्तिनाथ पुग्ने विभिन्न धार्मिक मानिसहरुले आ–आफ्नै तरिकाले पूजापाठ र दर्शन गरेका छन् । मन्दिरमा पुग्ने तिर्थालुले मुक्तिकण्ड तथा १०८ धारामा स्नान गरेका थिए । मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले मुक्तिनाथमा आउनेलाई टिका लगाई रक्षा बन्धन गरे । रक्षा बन्धन तथा मुक्तिनाथको दर्शनका लागि श्रद्धालुहरु विहानैदेखि पंक्तिवद्ध भएर बसेका थिए ।