एकजना महिला मृत फेला

कुश्मीशेरामा बिहिबार बिहान पिकअप भ्यान र मोटर साईकल ठोक्किँदा एक जना घाईते
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

बागलुङको जैमिनी नगरपालिका–२ डाडी बस्ने ३५ वर्षीया देवी ढकाल विहिबार मृत फेला पर्नुभएको छ ।
नगरपालिका–४ स्थायी घर भई हाल डाँडाखेत भन्ने स्थानमा बस्दै आउनुभएकी ढकाल आफू बसेको घर नजिकैको सडकको नालीमा घोप्टो अवस्थामा उहाँको शव फेला परेको बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो ।
श्रीमान् रोजगारीका लागि विदेश रहनुभएका मृतक ढकालको एक छोरा पोखरामा बस्दै आएको र एक छोरी पनि केही दिनदेखि आफन्तकोमा रहेको प्रहरीले जानकारी दिएको छ ।
मानसिकरूपमा कमजोर ढकाल धारोमा नुहाउन जाने क्रममा लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको प्रहरीले अनुसन्धानपछि मात्र वास्तविकता थाहा हुने जनाएको छ ।
यसैबिच कुश्मीशेरामा बिहिबार बिहान पिकअप भ्यान र मोटर साईकल ठोक्किँदा एक जना घाईते भएका छन् । कुश्मीशेरादेखि बागलुङ बजारका लागि छुटेको ध१ज ७०२ नम्बरको पिकअप भ्यानको ठक्करबाट बिपरित दिशावाट आईरहेको ध१प २५५५ नम्वरको मोटर साईकलमा सवार जैमिनी नगरपालिका १ का राजेन्द्र आचार्य घाईते हुनु भएको हो ।
उहाँको दाहिने खुट्टामा गम्भिर चोट लागेको प्रहरी चौकी कुश्मीशेराका हवल्दार अर्जुन क्षेत्रीले बताउनुभयो । घाईते आचार्यलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरामा सामन्य उपचारपछि थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाईएको छ । ठक्कर दिने पिकअप भ्यान र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको भनाई रहेको छ ।