भकुण्डे देखि ज्यामरुककोत सम्म पदमार्ग निर्माण

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : बिहिबार, साउन ३०, २०७६

म्याग्दीको बेनी नगरपालिका २ भकुण्डे देखि ज्यामरुककोत पुग्न पदमार्ग निर्माण गरिएको छ ।
भू– तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४ सय ८६ रुपियाँ र उपभोक्ताको तिन लाख ६५ हजार ५ सय ९९ रुपैया बराबारको श्रमदानबाट दुईसय पचास मिटर पदमार्ग निर्माण गरिएको हो ।
सिमेन्टेट ढलान सहितको सिँडी निर्माण गरिएको छ । पदमार्गको एकसय ९० मिटरमा दुवै तर्फ रेलिङ हालेर पदमार्गलाई व्यवस्थित पारिएको छ ।
२५ मिटर कठिन पहरालाई फुटालेर दुइमिटर फराकिलो पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले बताउनुभयो । ढिलो गरी बजेट प्राप्त भएपनि स्थानीयवासीको सक्रियताका कारण छोटो समयमा पदमार्ग बनाउन सफल भएको उहाँले बताउनुभयो ।
गत जेठ १३ गते सुरु भएको पदमार्ग असार ८ गते सम्पन्न भएको अध्यक्ष विकले जानकारी दिनुभयो । पदमार्ग निर्माण भएपछि कोतमन्दिरमा पुग्न सहज भएको उहाँले बताउनुभयो । ऐतिहासिक ज्यामरुककोत मन्दिरमा पूर्वाधार विकास गरी धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने योजना अनुसार पूर्वाधार निर्माणमा जोड दिएको वडा अध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।
चालु आर्थिक वर्षमा भू– तथा जलाधार व्यवस्थापन कार्यालयको बजेट बाट दुइसय पचास मिटर, गत वर्ष पर्यटन बोर्डको दुइलाख रुपैयामा ५६ मिटर र बेनी नगरपालिकाको ४ लाखमा ७६ मिटर गरी हाल सम्म तिनसय ८२ मिटर पदमार्ग निर्माण भएको वडा अध्यक्ष थापाले बताउनुभयो ।
उहाँका अनुसार गाउँदेखि कोतमन्दिर सम्म पुग्ने पदमार्ग सम्पन्न भएको छ । पदमार्गको केही भागमा रेलिङ राख्न बाँकी छ । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाको ७ लाख रुपैयामा मन्दिरक्षेत्रमा घेराबार र पदमार्गको वाँकी स्थानमा रेलिङ बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
ज्यामरुककोट मन्दिरलाई गलेश्वर र पञ्चकोट सँग जोड्ने गरी पूर्वाधार निर्माण गर्न थालिएको अध्यक्ष थापाले बताउनुभयो । मुक्तिनाथको दर्शन गरेर फर्किएका भक्तजनहरुलाई गलेश्वर हुँदै ज्यामरुककोत र त्यहाँ देखि बागलुङको पञ्चकोट पु¥याउन सकेमा पर्यटन प्रवद्र्धनमा टेवा मिल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।