पदमार्गमा पुल नहुँदा जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

सातौं अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्गमा पुल नहुँदा जोखिमयुक्त यात्रा गर्नुपर्ने बाध्यता छ ।
धौलागिरी गाउँपालिका–४ मा पर्ने बगरा गाउँदेखि आधारशिविर सम्म पन्ध्र वटा घाटमा झोलुंगे पुल छैनन् । त्यहाँसम्म पुग्न पाँच दिनको यात्रा गर्नुपर्छ । म्याग्दी नदी र अन्य सहायक खोला वारपार गर्न काठका अस्थाइ साँघु र जंघार तर्नुको विकल्प छैन ।
धौलागिरि हिमालको फेदीमा पर्ने इटाली आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाले झोलुंगे पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता भएको बताउनुभयो । ‘बर्खाको तीन महिना असार देखि भदौ सम्म आवत जावत ठप्प हुन्छ,’ तिलीजाले भन्नुभयो, ‘ढलेका रुख र काठ तेर्साएर बनाएका अस्थाई पुलबाट आवत जावत गर्दा दुर्घटनाको जोखिम छ ।’
पुल नभएर जोखिमपूर्ण यात्रा गर्नुपर्दा कतिपय पर्यटक बिचबाटै फर्कने गरेको बगराका कृष्णबहादुर बुढाथोकीले बताउनुभयो । ‘धेरै जसो पर्यटक हेलिकप्टरबाट सिधै बेसक्याम्प पुग्छन,’ उहाँले भन्नुभयो, ‘सुरक्षित पुल र पदमार्ग हुने हो भने पर्यटक आगमन पनि बढ्ने थियो, हेसलकप्टरबाट जानुपर्ने थिएन् ।’
दूर्गम र विकट भएकाले पुल निर्माण गर्न चुनौती भए पनि पुलको योजना परेमा आफूहरु श्रमदान गर्न तयार भएको स्थानीय तमबहादुर पुर्जाले बताउनुभयो । ‘योजना परेमा जंगलमै बास बसेर भए पनि पुल बनाउथ्यौ,’ उहाँले भन्नुभयो, ‘पुल बनाउने हाम्रो मागको कतैबाट सुनुवाइ भएन् ।’ बगरादेखि आधार शिविरसम्म जाने खोलामा पुल निर्माण गर्न स्थानीयले माग गरेका छन् ।
गाउँपालिकाका प्राविधिक बालकृष्ण पौडेलले १२ स्थानमा झोलुंगे पुल र ३ स्थानमा साना कल्र्भट निर्माण गर्न स्थलगत अध्ययन गरेर आवश्यकता पहिचान गरिएको बताउनुभयो । प्रदेश र संघीय सरकारसँग पुल निर्माणको योजना माग गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
वर्षमा करिब दुई सय पर्यटक हिमाल आरोहण र पदयात्राका लागि धौलागिरि आधार शिविर पुग्ने गर्छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५० लाख रुपैयाँ बजेटबाट धौलागिरी चक्रिय पदमार्गको नाउराभीरदेखि सल्लाघारीसम्म पदमार्ग मर्मत गरिएको छ ।