बोबाङ दम्पती हत्या प्रकरणः शंकास्पद ३ जना पक्राउ

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय बागलुङले शंकास्पद ३ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोही स्थानका ४९ वर्षिय कपाले विक, ५६ वर्षिय तमे विक र ६१ वर्षिय मसाने विकलाई अनुन्धानको लागि नियन्त्रणमा लिएको हो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासतमा राखिएको छ ।
साउन २५ गते राती बोबाङ अङगरे विराउनी बस्ने ६४ बर्षिय भानबहादुर कामी र उनकी श्रीमती ६० बर्षिया विमा कामीको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
संकास्पद ३ जनालाई पक्राउ गरेपनि हत्याको आशंकामा धेरै कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिनुभयो ।
आईतबार विहान भानबहादुरको शव घर तलको मकै बारीमा भेटिएको थियो भने विमाको शव आफ्नै घरभित्रै विभत्स अवस्थामा रहेको थियो । कामी दम्पति मृत अवस्थामा भेला परे पछि स्थानीयले आईतबार विहान प्रहरीलाई खबर गरेका थिए ।
हत्या गरिएको स्थान बोबाङमा बस्दै आएका उनीहरुको घर एकान्त ठाउँमा रहेको छ । मृतक कामीका भाई र भाइका माइतिको घर केही नजिक छ तर ति दुई दम्पति बस्ने ठाउँदेखि २५/३० मिनेट लाग्ने देखिएको छ । मृतक कामीका छोरा बुहारी ढोरपाटनमा बस्दै आएका छन् ।