उपनिर्वाचनमा दुई हजार मतदाता थपिए

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, साउन २९, २०७६

जिल्ला निर्वाचन कार्यालय बागलुङले उपनिर्वाचनको तयारी सुरु गरेको छ ।
निर्वाचन आयोगले आगमी मंसिर १४ गते उपनिर्वाचन घोषण गरे पछि जिल्ला कार्यालयले निर्वाचनको तयारी अन्तर्गत मतदाता संख्या अद्यावधीक तथा मतदाता नामावली संकलन कार्य रोकेको हो ।
बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को (ख) मा प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदै छ । कलेजोसम्बन्धी रोगका कारण गत मंसिरमा प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको मृत्यु भएपछि बागलुङ–२ को (ख) खाली भएको हो ।
बागलुङका जिल्ला निर्वाचन अधिकारी विकासराज शर्माका अनुसार निर्वाचन क्षेत्र २ को (ख) मा ३५ हजार ६ सय ३४ मतदाता पुगेका छन । अघिल्लो निर्वाचनमा ३३ हजार २ सय ४० मतदाता रहेकामा २ हजार ३ सय ९४ जना थपिएका हुन । यहाँ ४२ मतदान केन्द्र थिए ।
‘हामीले साउन १६ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएको संख्या अद्यावधिक गरी केन्द्रमा पठाएका छौं,’ शर्माले भन्नुभयो, ‘मतदानस्थल र केन्द्रको अद्यावधिक गर्न पर्न नपर्ने अध्ययनमा छौं ।’
बागलुङमा एक वडाध्यक्षको पनि निर्वाचन हुँदै छ । बडिगाड गाउँपालिका–२ का अध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वा्चित भएपछि दुई वर्षदेखि पद खाली छ । उक्त वडामा १ हजार ७ सय ७५ मतदाता छन । स्थानीय तहको निर्वाचनताका सो वडामा एक हजार ६७० मतदाता रहेका थिए ।
अघिल्लो निर्वाचनमा १ हजार ६ सय ७० रहेकोमा १ सय ५ जना थपिका हुन । ‘तत्कालका लागि निर्वाचनको मिति मात्र घोषणा भएकाले हामीले पछिल्लो तथ्यांक प्रकाशित गरेका हौं, अरू काम निर्वाचन अधिकृतको घोषणापछि मात्र सुरु हुन्छ,’ शर्माले भन्नुभयो, ‘अन्तिम नामावली निर्वाचन मिति घोषणाकै समयलाई मानेर गर्छौं ।’