मुक्तिक्षेत्रमा यार्तुङ महोत्सव सुरु

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन २८, २०७६

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ पुराङ रानीपौवामा सोमबार देखि यार्तुङ महोत्सव २०७६ सुरु भएको छ ।
’पर्यटन संस्कृति कृषि पशुपालन र गुणस्तरीय पूर्वाधार, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहिचान र समृद्धिको मुल आधार’ भन्ने नारासहित महोत्सव सुरु भएको हो ।
वारागुङ मुक्तिक्षेत्र तथा उपल्लो मुस्ताङमा यातुङ पर्व उत्साहपूर्ण रुपमा मनाउने चलन छ । कागबेनीदेखि उत्तरतर्फका विभिन्न समुदायको मौलिक सास्कृतिक पर्व यार्तुङ पर्व आआफ्नै ढङ्गले मनाइने भए पनि मुक्तिनाथ क्षेत्रमा हुने पर्वलाई महोत्सवका रुपमा मनाइँदै आएको छ ।
बर्सेनी जनैपूर्णिमा तिथीमा मुक्तिनाथमा यार्तुङ महोत्सव संञ्चालन हुने गर्छ । स्थानीय भाषामा यारको अर्थ बर्खा र तुङको अर्थ हिउँदको आगमन भन्ने बुझिन्छ । पर्वका बेला स्थानीय भेला भइ सास्कृतिक नृत्य, तारो हान्ने ,घोडा दौडाउन र स्वादिष्ट परिकार बनाएर खाने गर्छन् । स्थानीयका अनुसार यार्तुङको अर्थ नै बर्खायामको बिदाइ हो ।
यार्तुङ महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नूभयो । मुख्यमन्त्री गुरुङले धार्मिक तथा सांस्कृतिक विकासले मात्रै पर्यटन प्रवर्धनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।


मुस्ताङको पर्यटन विकासका लागि उपल्लो मुस्ताङमा जियोपार्कको सम्भाव्यता अध्ययन गरिने र आगामी १० वर्ष्भित्रै गण्डकी प्रदेशलाई गरिवीमुक्त प्रदेश बनाइने उल्लेख गर्नूभयो ।
कार्यक्रममा संघीय सांसद प्रेमप्रसाद तुलाचन ,प्रदेश सांसद महेन्द्रबहादुर थकाली ,वारागुङकी उपाध्यक्ष ढिकी गुरुङ,स्थानीय महिला समुहकी लक्ष्मी गुरुङ र क्लवका सल्लाहकार नाम्ग्याल वाङ्दी गुरुङले महोत्सवको औचित्य बारेमा प्रकाश पार्नुभयो ।
यार्तुङ महोत्सवमा सेभेन ए साइड फुटबल, तारो हान्ने खेल, परम्परागत घौडा दौड प्रतियोगिता, सांस्कृतिक कार्यक्रम , खानाका परिकार, भेषभुषा प्रर्दशनी, कृषि उत्पादन तथा हस्तकाला प्रर्दशनी लगायतको कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिनुभयो ।
महोत्सव ३० गतेसम्म संञ्चालन हुने छ । कार्यक्रमको संञ्चालन प्रशासकीय अधिकृत दिपक रेग्मीले गर्नुभएको थियो । कार्यक्रम वारागुङ मुक्तिक्षेत्र गाउँपालिका तथा जनप्रिय युवाक्लवको संयुक्त आयोजनामा भएको हो ।