काम गरेर खान सक्नेलाई मन्दिर भित्र नै जागिर दिने : अध्यक्ष खड्का

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, साउन २७, २०७६

कालीका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्काले मानवीय काम गर्दासमेत समस्या आउने गरेको बताउनुभएको छ ।
आईतबार धौलागिरी सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गुठी व्यवस्थापन समितिका अध्यक्ष खड्काले मन्दिर परिसरबाट जोगी सन्यासीलाई नहटाएको र तिनको व्यवस्थापन गर्न खोजेको बताउनुभयो ।
उहाँले मन्दिर परिसरमा सधै बसेर माग्नेहरुलाई जिल्ला प्रशासन, प्रहरी, गुठी समिति र मानव सेवा आश्रमको सहमतिमा घरपरिवार नभएकाहरुलाई आश्रममा राख्ने व्यवस्था गरिएको दावी गर्नुभयो । उहाँले सरकारले अहिले सार्वजनिक ठाउँमा भिख माग्न नपाउने कानुन समेत बनाएको बताउँदै त्यसकारण पनि अहिले देखिएको समस्या समाधान गर्न खोजीएको बताउनुभयो ।
उहाँले जोगिको भेषमा अरु नै भएको बताउँदै सच्चा जोगी भए कालिका भगवती गुठी व्यवस्थापन समितिले खाना र बस्नको लागि सहयोग गर्न तयार समेत रहेको बताउनुभयो । काम गरेर खान सक्नेलाई मन्दिर भित्र नै जागिर दिने वा बजारमा कामको खोजी दिने र असक्त असहायकलाई मानव सेवा आश्रममा राख्ने व्यवस्था भएपनि उनीहरु आश्रमबाट बाहिरिएको अध्यक्ष खडकाको भनाई छ ।
उहाँले दिनभर मन्दिर परिसरमा माग्न बस्ने र बेलुका मादक पदार्थ र अन्य लागु औषधहरु सेवन गरी होहल्ला गर्ने गरेका कारणले पनि हटाउन बाध्य भएको बताउनुभयो । धौलागिरि संचार क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको साक्षात्कार कार्यक्रमको स्वागत कोषाध्यक्ष कोपिला कंडेल र संचालन सचिव प्रदीप पन्तले गर्नुभएको थियो ।