मध्यपहाडी लोकमार्गको निर्माण कार्य सुरु

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, साउन २५, २०७६

बागलुङको बडीगाड खोलाको बाढीले तुरतुरेताल फुटेर अवरुद्ध भएको (मध्यपहाडी लोकमार्ग खुलाउनका लागि नियमित काम सुचारु भएको छ ।

मध्यपहाडी लोकमार्गको टोलीले दायित्व लिएपछि काम निरन्तर अघि बढ्ने समझदारी भए अनुसार निर्माणको काम शुरु भएको हो । निर्माणको जिम्मा लिने कम्पनिले आगामि भदौ ५ भित्र सन्चालनमा ल्याउने प्रतिवद्धता जनाएको छ ।

विगत ४ दिन देखि अवरुद्ध सडक खुलाउने काम सुरु गरिएपनि निर्माणको दायित्व मध्यपहाडी लोकमार्ग वा स्थानिय सरकार कसले लिने भन्ने विषय टुंगो नलाग्दा काम रोकिएको थियो ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय कुस्मा पर्वतका प्रमुख आशिष थापा मगरको उपस्थितिमा ढोरपाटन नगरपालिकाको नगर कार्यपालिका कार्यालयमा स्थानिय जनप्रतिनिधी, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, स्थानिय समाजसेवी बुद्धिजीवीहरुको विशेष छलफलले बाटो खुलाउने काम सुचारु गर्ने निस्कर्ष निकालेको हो ।

छलफल पछि मध्यपहाडी लोकमार्ग बागलुङ खण्डका प्रमुख थापाले अवरुद्ध बाटो जतिसक्दो छिटो खुलाउने प्रसाय भैरहेको बताउनुभयो । उहाँले बाटो खुलाउने जिम्मेबारी पाएको कम्पनीसंग भएको समझदारी र कम्पनीले गरेको प्रतिबद्धता अनुसार काम भए यहि भदौ ५ गते भित्र अवरुद्ध बाटो खुल्ने जानकारी दिनुभयो ।

बाटो अवरुद्ध भएपछि बाटो खुलाउनका लागि ईन्जीनियरहरु सहित फिल्ड कमाण्ड टोली निरन्तर खटिएपनि आफ्नै उपस्थितिमा थप सहजीकरण गर्नुपर्छ भन्ने उद्देश्यले आफु स्थलगत रुपमै उपस्थित भएको थापाको भनाई थियो ।

बाटो खुलाउने जिम्मा भने एसी कन्ट्रक्सन बुर्तिबाङलाई दिइएको छ । १० दिन भित्र बाटो खुलाउने काम सक्ने लक्ष रहेको एसी कन्ट्रक्सन बुर्तिबाङका प्रमुख दिपक अदैले जानकारी दिनुभयो । गत २०७५ भदौ ३० गते ढोरपाटन नगरपालिका र बडीगाड गाउँपालिकाको सीमानामा पर्ने तुरतुरे देउरालीमा गएको भीषण पहिरोले बडीगाड खोला थुनिदा करिब एक सय मिटर गहिरो र एक किलोमिटरभन्दा लामो ताल बनेको थियो ।

उक्त तुरतुरे ताल फुटेसँगै लोकमार्गको करिब दुई सय मिटर सडक बगाएको थियो । सडक अवरुद्धपछि बुर्तिवाङबाट बागलुङ, पोखरा, काठमाडौं, पाल्पा, बुटवल लगायतका स्थानमा छुट्ने सवारी साधन बुर्तिवाङमै रोकिएका छन् । ती ठाउँबाट बुर्तिबाङ आउने सवारी साधन बडीगाड गाउँपालिकाको भीमगिठेमा रोकिएको र भिमगिठेदेखी भने बागलुङ, पोखरा, काठमाडौ, बुटवलसम्म यातायात सेवा सञ्चालन भैरहेको बताइएको छ ।