रघुगंगाले बनायो प्रथम पञ्चबर्षिय योजना

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : शनिबार, साउन २५, २०७६

म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रथम पञ्चबर्षिय योजना निर्माण गरेको छ । जिल्लामा रहेका स्थानीय तहहरुमध्ये रघुगंगाले पहिलो पटक प्रथम पञ्चबर्षिय योजना सार्वजनिक गरेको हो ।

समुन्नत र समृद्ध रघुगंगा निर्माण गर्ने लक्षलाई कार्यान्वयन गर्नको लागि योजनाबद्ध विकास गर्न रघुगंगाले पञ्चबर्षिय योजना निर्माण गरेको जनाएको छ । आर्थिक विकास र गरिबी निवारणलाई जोड दिएको पञ्चवर्षिय योजनाले मध्य र दिर्घकालिन प्रकृतिका योजनाहरुको वडागत सूचि समेत तयार पारेको छ ।

२०७६/७७ देखि २०८०/०८१ सम्मका लागि गत असार २० गतेको कार्यपालिका बैठकले स्वीकृत गरेको प्रथम पञ्चवर्षिय योजना सार्वजनिक गरिएको कार्यपालिकाका प्रवक्ता जिवनकुमार मल्लले जानकारी दिनुभयो । कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीको नेतृत्वमा आवधिक योजना तर्जुमा निर्देशक समिति पनि गठन भएको छ ।

२०७७ मा मध्यावधि मूल्याङ्कन गरिने योजनामा बहुक्षेत्रगत विकासका नीतिहरु, शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत, सूचना, सञ्चार क्षेत्रलाई महत्व दिएको प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी दिनुभयो । करिब तीन महिनाको वडागत रुपमा छलफल गरि इगल्स सोलुसन्स प्रा.लिको प्राविधिक सहयोगमा गाउँपालिकाले आवधिक योजना निर्माण गरेको हो ।

आवधिक योजना तर्जुमा निर्दे्शिका बमोजिम विस्तृत स्थलगत अध्ययन गरि समस्या र सम्भावनाहरुको पहिचान र प्राथमिकता गरेर दिर्घकालिन विकासको खाकालाई योजनामा समावेश गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । योजनामा क्षेत्रगत विकासको लक्ष्य, कार्यक्रमको विश्लेषण, दिर्घकालिन भौतिक विकासको योजनालाई समेटीएको छ ।

त्यसैगरि पालिकाभित्र रहेका धार्मिक, पर्यटकीय र ऐतिहाँसिक स्थलहरुको अबस्था र विकासको सम्भावना, वडागत भोतिक पूर्वाधार योजना, सडक लगायतका विकास निर्माण योजनाहरुसंगै अवसर, चुनौति र समस्याहरुलाई समेत समेटीएको छ । कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत, सञ्चार लगायतका क्षेत्रको अबस्था र प्राथमिकतालाई समेत आबधिक योजनामा समेटीएको छ ।