म्याग्दीका सबै स्थानीय तहमा यातायातको सुविधा

-- ध्रुबसागर शर्मा, म्याग्दी / प्रकाशित मिति : शनिबार, साउन २५, २०७६

स्थानीय तह गठन भएपछि म्याग्दीका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालमा जोडिएका छन् । योसँगै दुर्गमका बासिन्दाको दैनिकी सहज बनेको छ भने स्थानीय उत्पादनलाई बजारसम्म पु¥याउन पनि निकै सहज भएको छ ।
पछिल्लो समय म्याग्दीका अधिकांश ग्रामीण क्षेत्रमा यातायातको सुुविधा पुगेपछि स्थानीयबासी उत्साहित बनेका छन् । सडक सुविधा नहुँदा कतै जानुपरे पनि घन्टौँको बाटो सकी–नसकी हिड्नुपर्ने बाध्यता थियो तर अहिले अधिकांश गाउँमा सडक सुविधा पुगेपछि गाउँ पनि रमणीय बन्दै गएको छ ।
गाउँमा सेवा सुविधा नभएपछि शहरतर्फ छिरेकाहरु पनि गाउँको मुहार फेरिन थालेपछि दंग पर्न थालेका छन् । म्याग्दी सदरमुकामदेखि करिब ५० किलोमटिर पश्चिममा रहेको मालिका गाउँपालिकाको वडा नम्बर ७ रुम गाउँका स्थानीय बलबहादुर विकले सडक पुगेपछि स्थानीय उत्पादनले सजिलै बजार पाउन थालेको बताए ।
पहिले पहिले सडकको सुविधा नहुँदा कृषि उत्पादन कि त बारीमै कुहेर सकिन्थ्यो, कि छरछिमेकमा बाँड्दाबाड्दै रित्तिन्थ्यो । तर सडक पुगेपछि उत्पादनले मूल्य पाउने भएपछि व्यावसायिक कृषकहरु पनि मख्ख परेका छन् । त्यस्तै सडकको सुविधा भएपछि स्वास्थ्य र शिक्षासँगको पहुँच सहज रुपमा बढ्दै गएको धौलागिरि गाउँपालिका वडा नं ७ का अध्यक्ष कलानिधि शर्माले बताए ।
अर्कोतिर सडकको सुविधा भएपछि पर्यटन प्रवर्द्धनमा पनि सघाउ पुग्दै गएको छ । ग्रामीण क्षेत्रमा सडकका साथै अन्य आधारभूत विकासका पूर्वाधार खडा गर्न सके बढ्दै गएको शहरमोह केही हदसम्म घट्दै जाने रघुगंगा गाउँपालिका वडा नं ३ का अध्यक्ष जीवन मल्लको भनाइ रहेको छ ।
एक नगरपालिका सहित ६ वटा स्थानीय तह रहेको म्याग्दीका सबै स्थानीय तहमा सडक संजालको पहुँच पुगेको छ । धौलागिरि र रघुगंगा गाउँपालिकाका एक÷दुई वडामा मात्र यातायातका साधनहरु पुगिसकेका छैनन् भने अरु सबै ठाउँ सडक संजालसंग जोडिएका छन् ।
गाउँगाउँमा यातायातका साधनहरु गुड्न थालेपछि स्थानीयको जीवन यापन सहजहुनुका साथै गाउँको मुहार पनि फेरिएको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानका अध्यक्ष गमबहादुर फगामीले बताए । गाउँगाउँमा विकासका पूर्वाधारहरु निर्माण भएका छन् भने स्थानीयको चेतना स्तरमा समेत परिवर्तन आएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।