हस्तकलाका आकर्षक सामान, बजारीकरणको अभाव

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६

म्याग्दीको बेनी नगरपालिका–६ जामुनाखर्कमा रहेको हस्तकला उद्योगबाट उत्पादीत सामग्रीलाई बजारको अभाव भएको छ ।
जामुनाखर्कका अशोक शाहीले सञ्चालन गरेको राउटे ह्याण्डीक्रफ्ट एण्ड डेकोरेशन उद्योगमा उत्पादीत सामानलाई बजार अभाव भएको हो । करिब सत्र लाख रुपैयाँ लगानी गरेर हस्तकला कारखाना खोलेका शाही उत्पादीत सामान बिक्री नहुँदा निराश बन्नुभएको छ ।
छ÷सात लाखको सामान स्टक रहेको जानकारी दिदै उहाँले बजार नपाएर सामान बिक्री नहुँदा सोचेजस्तो नभएको बताउनुभयो । रोजगारीका लागि उहाँले २७ महिना मलेसियामा काम गर्नुभएको थियो । सोचेजस्तो कमाई नभएपछि गाउँ फर्किएर विदेशको विकल्पमा उद्योग खोल्नु भएको हो ।
बाँसका सिन्का बनाउन उहाँले नौ लाख रुपैया खर्चेर चिनबाट मेसिन ल्याएको जानकारी दिनुभयो । उपहार र सजावटका लागि माग बमोजिमका हस्तकलाका सामान बनाउने गरिएको छ । पाँच सय रुपैयाँ देखि दुई लाख पचास हजार रुपैयाँ मूल्य सम्मका सामाग्री बनाएको उहाँको भनाई छ । यसअघि कारखानामा उहाँ एक्लै काम गर्नुहुन्थ्यो ।
सिक्नका लागि हालै अरु दुई जना पनि थपिएका छन् । बाँसका सिन्कालाई डिजाइन र स्वरुप अनुसारको टुक्रा बनाएर फेबीकलले टाँसेर सामग्री बनाउँछन् । बाँसका सिन्काबाट कोठालाई सजावट गर्न पनि सकिने उहाँले बताउनुभयो । मोडाका साथै कुर्ची, टेबल र चोयाबाट डोका, डाला, नाङ्लो, थुन्से, भकारी जस्ता परम्परागत घरायसी सामग्रीहरु तयार पार्ने गरिएको बताइएको छ ।
शाहीले धार्मिक स्थलहरुलाई हस्तकलामा उतार्नु भएको छ । बाँसका सिन्काबाट पशुपतिनाथ, जानकी, मुक्तिनाथ, रानीमहल, गलेश्वर, पाँच तले दरबार, घरहरा लगायत दर्जनौ मन्दिर तथा ऐतिहाँसिक स्थलका दुरस्त आकृति तयार पार्नु भएको हो ।
३३ वर्षका शाहीले ८÷९ वर्षको उमेर देखिनै बाँसका सिन्काबाट सामान बनाउने रुची राख्ने गर्नुहुन्थ्यो । बाँसका सिन्काको टुक्रा, टुक्रालाई जोडेर दुरुस्त आकृतिका मन्दिर, महल तयार पार्ने कला र सिपलाई शाहीले ब्यवसायमा रुपान्तरणको प्रयास गर्नुभएको हो ।