च्याम्पियनसिपको नेपाली टोलीमा म्याग्दीका निराजन छनौट

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : शुक्रबार, साउन २४, २०७६

१५ बर्ष मुनीको नेपाली राष्ट्रिय फुटवल टोलीमा म्याग्दीका निराजन खत्री छनौट हुनु भएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट घर भएका खत्री भारतमा आयोजना हुन लागेको यू–१५ साफ च्याम्पियनसिपका लागि घोषणा भएको नेपाली राष्ट्रिय टोलीमा पर्न सफल हुनु भएको हो ।

खत्रीले प्रतियोगितामा मिड फिल्डरको रुपमा सहभागिता जनाउने भएको बताइएको छ । २ बर्ष अघि जापानमा भएको यू–१२ च्याम्पियनसिपमा समेत नेपाली टोलीबाट सहभागी हुनु भएका खत्रीले प्रतियोगिता अवधिभर १० गोल गर्दै नेपाली टोलीबाट सर्वाधिक गोलकर्ता बन्नु भएको थियो ।

उहाँले बिगत ३ बर्षदेखि बुटवल एन्फा एकेडेमीमा बसेर नियमित फुटवल खेल अभ्यास गर्दै आउनु भएको छ । फुटवल खेल आफ्नो रोजाई भएको र सानैदेखि फुटवलमा रुचि पनि भएकाले यस पटकको अवसरलाई पनि नेपाली टोलीको पक्षमा नतिजा ल्याउने गरि सदुपयोग गर्ने प्रयासरत खत्रीको भनाई थियो ।

अगस्ट २१ देखि भारतमा आयोजना हुन लागेको साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्नेछ । त्यसपछि बंगलादेश र भुटानसँग प्रतिस्पर्धा गर्नेछ । खत्रीसंगै राष्ट्रिय टोलीको गोलकिपरमा ईश्वर गुरुङ, मनोज दाहाल र जेनिस केसी रहनु भएको छ ।

डिफेन्डरमा प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु र रोशन थापा रहेका छन् भने मिडफिल्डमा निराजन खत्री, जन्म जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, र अनिल चौलागाई रहेका छन् । यस्तै फर्वाडमा किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी र शंशाक बोहरा रहेको बताइएको छ ।