यू–१८ को प्रारम्भिक चरणमा बागलुङका युगेश थापा

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : सोमवार, साउन २०, २०७६

नेपालमा आयोजना हुने तेस्रो संस्करणको दक्षिण एसियाली पुरुष यू–१८ साफ च्याम्पियनसिपका लागि नेपालले आइतबार (आज)बाट तयारी सुरु गरेको छ ।
हल्चोक स्थित एपीएफ क्लबको मैदानमा आयोजना हुने प्रतियोगिता सेप्टेम्बरमा हुने भनिएपनि मिति भने तय भएको छैन । एन्फाले साफ यू–१८ का लागि प्रारम्भिक चरणमा ४६ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । जसमा १० फरवार्ड, १७ मिड फिल्डर,१३ डिफेन्डर र ६ गोल किपर रहेका छन् ।
यू–१८ को प्रारम्भिक चरणमा बागलुङका युगेश थापा पर्न सफल भएका छन् । फ्रेण्डस क्लबको यू–१८ टिमबाट ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता खेलेका थापा प्रारम्भिक चरणमा छनौट भएका हुन । ८ वर्षदेखि फुटबल खेल्दै आएका थापाले बागलुङमा भएका स्कुल स्तरिय प्रतियोगितामा सिदार्थ शिक्षा सदनलाई २ पटक उपाधि जिताएका थिए । यस्तै सानै उमेरमा बागलुङ–११ को महत्वपूर्ण सदस्यको रुपमा आफुलाई उभाई सकेका छन् ।
सानै उमेरदेखि फुटबलमा लागेका थापाले एक दिन नेपालको जर्सि लगाएर देशको लागि फुटबल खेल्ने सपना बनाएका छन् । उनलाई घरबाट पूर्ण रुपमा फुटबल खेल्न सहयोग मिलेको बताइएको छ । थापालाई सानैदेखि फुटबल सिकाउँदै आएका बागलुङ जिल्ला फुटबल संघका प्रशिक्षक भिम बहादुर बोहोराले मेहेनेती भएकाले अहिले उक्त स्थानमा पुगेको बताउनुभयो । उहाँले थापाको खेल उत्कृष्ट रहेको र अन्तिम टिममा पर्न सक्नेमा सम्भावना देखिएको बताउनुभयो ।
एन्फाले साफ यू–१८ का लागि गत महिना सम्पन्न ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपका आधारमा खेलाडी छनोट गरेको हो । यसै साफ यू–१८ खेल्ने टिमले यू–१९ एएफसी च्याम्पियनसिप छनोट प्रतियोगिता खेल्ने छन् । घरेलु भूमिमा नेपाल साविकको विजेताको हैसियतले मैदान उत्रने भएको छ । भुटानमा दुई बर्षअघि आयोजना भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।
यसअघि साफले पहिलो संस्करण यू–१९ साफ आयोजना गरेको थियो । दोस्रो संस्करणमा त्यसलाई परिमार्जित गर्दै साफ यू–१८ आयोजना गरिएको हो । पहिलो संस्करणको साफ यू–१९ सात दोबाटो स्थित एन्फा कम्प्लेक्समा आयोजना भएको थियो ।
उक्त प्रतियोगिता नेपालले भारतलाई पेनाल्टी सु टआउटमा पराजित गर्दै उपाधि जितेको थियो । एन्फाले यू–१८ साफको लागि मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ, सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नु राम चौधरीलाई चयन गरेको छ ।