७ वर्षपछि बन्यो लुप्रा–पान्डा खोलामा पुल

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ लुप्रा–पान्डा खोलामा निर्माणाधीन पक्की पुल ७ वर्षपछि सम्पन्न भएको छ ।

पुल बनेपछि सवारीसाधन सञ्चालनमा आएका छन् । विगत १ वर्षदेखि पुलमा कुनै काम भएको थिएन। पुलको काम १० प्रतिशत सक्न बाँकी थियो । पुलमा माटो फिलिङ, इन्सपाइसन जोइन, एप्रोज सडक र एप्रोज स्लाब लगायतका काम थाँती नै रहेका थिए ।

करिडोर सडक र मुस्ताङका जनप्रतिनिधिको दवावपछि निर्माण कम्पनीले पुलप्रति चाँसो देखाएको हो । लुप्रा–पान्डा खोलामा पुल नहुँदा बर्खायामको समयमा मुक्तिनाथ दर्शन गर्ने र उपल्लो मुस्ताङ जाने सवारी तथा यात्रुलाई सास्ती हुने गरेको थियो । पुलमा दोहोर आवतजावत सहज भएपछि मुक्तिक्षेत्र जाने सवारीलाई सजिलो भएको छ ।

राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तर्गत मुस्ताङमा करिडोरले १ दर्जन बढी पुलको काम थालेको छ । लुप्रा–पान्डा खोला पुल काम थालेको ७ वर्ष बिते पनि यो मुस्ताङमै पहिलो पक्की पुल सम्पन्न भएको जनाइएको छ । बारागुङकै अर्को उपल्लो मुस्ताङ जोड्ने छुसाङ पक्की पुल पनि अन्तिम चरणमा छ ।

भारतीय नाकाबन्दी र हिउँदयाममा काम गर्न अप्ठ्यारो हुने भएकाले पनि समय लम्बिएको कम्पनीका प्रतिनिधि सुदिप कार्कीले बताउनुभयो । पुलको औसत लम्बाई ५० मिटर र चौडाई ७ मिटरको छ । यस्तै लुप्रा–पान्डा खोला बग्ने क्षेत्रको लम्बाई फराकिलो भएकाले थप २ वटा ढलान कल्र्बट र ग्याबिनले घेरेर थप १ सय ९० मिटर माटो फिलिङ गरिएको कार्कीले बताउनुभयो ।

ढिलै भएपनि पुल निर्माण भएपछि मुक्तिनाथ र उपल्लो मुस्ताङको यात्रा सहज भएको छ । विगतमा पुल नहुँदा यातुङ मेलामा जाने स्थानीय र मुक्तिनाथ जाने तिर्थालुले चर्को शुल्क तिरेर ट्याक्टर मार्फत खोलो वारपार गर्नुपर्ने बाध्यता रहेको थियो ।