संयुक्त विद्यार्थी संघर्ष समितिद्वारा बागलुङ नगरको ध्यानाकर्षण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, साउन ७, २०७६

११ र १२ कक्षा दिउँसोमा संचालनको माग गर्दै संयुक्त विद्यार्थी संघर्ष समितिले बागलुङ नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।
बागलुङमा कक्षा ११ र १२ पढाई हुने सामुदायिक तथा संस्थागत विद्यालयमा शिक्षा नीति उल्लङ्घन गरि विहानमा पढाउँदै आएका विद्यालयहरुलाई दिउसोमा कक्षा संचालन गर्न निर्देशन दिन माग गर्दै बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।
विहानमा संचालन हुँदै आएका ११ र १२ का कक्षाहरु विहान १० बजेदेखि संचालन तथा व्यवस्थापन गर्न विद्यार्थी संघर्ष समितिले जोडदार माग गरेको छ । समितिले बागलुङ जिल्लाका नीजि तथा सामुदायिक विद्यालयहरुले शिक्षा नियमावलीलाई मिचेर आफु खुसी शुल्क उठाउँदै आएको प्रष्ट हुँदा हुँदै पनि सम्बन्धित निकायले त्यसलाई छानबिन गरि उचित कारबाही गर्न समेत माग गरेको छ ।
अनेरास्ववियूका शेखर खड्का, नेपाल विद्यार्थी संघका श्रीकृष्ण पौडेल, अखिल क्रान्तिकारीका जीनव शर्मा, अखिल छैठौँका दिलिप बुढाथोकी, धौलागिरी बहुमुखी क्याम्पसका स्ववियू सचिव विष्णुराज पौडेल र राप्रपा विद्यार्थी संघका रमेश भण्डारीद्वारा संयुक्त हस्ताक्षरित ज्ञापन पत्र नगर प्रमुख पौडेललाई बुझाइएको समितिले जनाएको छ ।
आफुहरुले सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि विद्यालयले शुल्क मनपरी ढंगले लिइ रहेमा र सम्बन्धित निकाय मौन रहेमा सम्बन्धित निकाय विरुद्ध विद्यार्थी संगठन आन्दोलनमा उठ्ने कडा चेतावनी दिएका छन् ।