मध्यपहाडी लोकमार्गमा सोचे अनुसार उपलब्धी छैनः पाठक

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, साउन २, २०७६

प्रतिनिधिसभा सांसद डाक्टर सुर्य पाठकले राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा सोचे अनुसार उपलब्धी हासिंल गर्न नसकेको बताउनुभएको छ ।
धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दैै सांसद पाठकले लोकमार्गको कामलाई गति दिन पहल गरे पनि निर्माण कम्पनीको ढिलाईका कारण जनतासँग गरेको बाचा पुरा गर्न नसकेको स्वीकार गर्नूभयो ।
हामीले एक वर्ष अगाडी यसै आर्थिक वर्षमा लोकमार्गको बागलुङ घोडाबाँधे खण्ड कालेपत्रे हुन्छ भनेको थियौं, पाठकले भन्नुभयो । ‘निर्माण व्यवसायीले समयमा काम नगर्दा सम्पन्न हुन सकेन । जनतासँग क्षमा माग्नुपरेको छ ।’
पाठकले चिन र भारत सँग जोडिने कालीगण्डकी कोरिडोरको काम बागलुङमा तिब्र गतिमा काम भै रहेका जनाउँदै बलेवा विमानस्थल सम्म १० मिटर सडक चौडा गरेर कालोपत्रे गर्ने योजना रहेको बताउनुभयो । त्यसैगरी बलेवा एअरपोर्ट समेत कालोपत्रे गरि एयरपोर्ट संचालन गर्ने योजना रहेको पाठकको भनाई छ ।
जिल्लाको कुश्मीशेरामा भएको कालोपत्रे सडक मापदण्ड बिपरित बनिरहेको गुनासो आएपछि अनुगमन गर्दा कमजोरी भेटिएको सांसद पाठकले बताउनुभयो । उहाँले उक्त सडक खण्डमा काम गर्ने निर्माण व्यवसायीलाई तुरुन्त निर्माणको काम सुधार गर्न निर्देशन समेत दिएको बताउनुभयो ।
निर्वाचन क्षेत्र विकास पुर्वाधार कार्यक्रम अन्तरगतको उक्त सडक १६ सय मिटर कालेपत्रे गर्ने भनेता पनि गुणस्तर घट्दै १५ सय ५५ मिटर मात्र कालेपत्र भएको थियो । उक्त सडकमा २ सय ५८ मिटर सडकको कालेपत्रे उक्की सकेको र बाँकी १३ सय ९ को मात्र भुक्तानी हुने गरी काम सम्पन्न भएको बताउनुभयो ।
उक्त सडकमा ठेकेदार र प्राविधिकको मिलेमोतोका कारण गुणस्तरीय हुन नसकेको बताउनुभयो । पाठकले आफ्नो क्षेत्रका अन्य योजनाहरु राम्रो भएको र आगामी दिनमा अझै प्रभावकारी ढंगले संचालन गर्ने बताउनुभयो ।
सांसद पाठकले सरकार समृद्धिको बाटो तर्फ लागेको जिकिर गर्नुभयो । कार्यक्रम धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सदस्य सृजना पन्तको स्वागत र कोषाध्यक्ष कोपिला कंडेलको संचालनमा सम्पन्न भएको थियो ।