महिनाको एक दिन टोलको सरसफाई

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, साउन २, २०७६

बागलुङको गल्कोट नगरपालिका–११ रिघाका स्थानिय प्रायः खेतवारीको काममा व्यस्त रहन्छन् ।
किसानहरुको बाक्लो बस्ती रहेको रिघाको गोठ्लाङ्गमा स्थानियले कामबाट फुर्सद निकालेर महिनाको एक दिनभने समुदायको सुन्दरताका लागि खर्चिने गरेका छन् ।
जथाभावी फालिएका प्लाष्टिक, कुहीने फोहोर तथा घरायासी प्रयोजनबाट निस्कीने फोहोरले गाउँनै कुरुप भएपछि गाउँलेले सरसफाई अभियान थालेको स्थानिय बिरबहादुर श्रीसले बताउनुभयो ।
सुन्दर सडक, धारा पँधेरा र बिसौनी सरसफाई गर्न स्थानियले आफ्नो खेतबारीमा लगाएको जस्तै मेहनत लगाउँछन् । त्यसैले त गाठ्लाङ्ग सुन्दर र सफा छ । गाउँ टोलको सुन्दरता त्यहाँको सरसफाईमा निर्भर गर्छ । सडकदेखि पानीको पँधेरो र बिसौनी सम्म सरसफाई गर्नु नागरीकको दायित्व हो ।
समुदायको सुन्दरतामा विश्वास राख्ने गोठ्लाङ्गबासीले प्रत्येक महिना टोलको सरसफाई गरेर फोहोरको व्यवस्थापन र स्वास्थ्य आनीवानिको बिषयमा छलफल गर्ने गरेका छन् । समय निकालेर महिनामा एक दिन टोल सरसफाई गर्ने गरेका बताउदै स्थानिय रवीना श्रीसले सरसफाईको आधारभुत जानकारी पाएका युवाले गाउँका सबैलाई सरफाईमा सहभागि गराउने गरेको जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा स्थानिय जेष्ठ नागरिकदेखि युवा र स्कुले वालबालिका समेत सहभागि हुने गरेका छन् । टोलको सरसफाईका लागि गत आर्थिक बर्षमा वडा कार्यालयले दुई दिनको तालिम टोलवासीलाई दिएको थियो ।
सरसफाईको अभावमा हुने खतराका बिषयमा जानकारी पाएपछि अभियाननै चलाएर मासिक सरसफाईको कार्यक्रम बनाएको श्रीसले बताउनुभयो । टोलका हरेक घरमा फोहोर व्यवस्थापनको लागि डस्टविन राखिएको छ । स्थानिय देविस्थान युवा क्लवले डस्टविनको व्यवस्था गरेको हो ।
सार्वजनिक धारा, पँधेरा र चोकहरुमा फोहोर मलाई लेखिएका डस्टविन राखिएका छन् । सार्वजनिक स्थानमा यात्रामा रहेका पाहुना र गाउँलेलाई समेत स्थानियले सबै फोहोर डस्टविनमा फाल्न सुझाव दिने गरेको छ ।