८ सय मिटर सडकको स्तरोन्नति

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, साउन १, २०७६

गलकोट नगरपालिकाको नगर गौरवको योजना अन्तर्गत मल्म पाण्डवखानी सडकको ८ सय मिटर सडकको स्तरोन्नति तथा ग्रावेल कार्य सम्पन्न भएको छ ।
मध्यपहाडी लोकमार्गको आगाक खेत जिरो किमीदेखी ओदाहसम्मको सडक निर्माण गरिएको हो । निर्माण कार्यको जिम्मेवारी न्यू गोरख निर्माण सेवाले लिएको थियो ।
७ मिटर चौडाई सहित पक्की नाली, कटिङ र आवश्यकता अनुसार हिम पाईप, मेसिनरी वाल निर्माण सहित सडकको ग्रावेल गरिएको निर्माण कम्पनीका प्रवन्धक गोरख भण्डारीले बताउनु भयो ।
आर्थिक वर्ष २०७५÷०७६ को गलकोट नगरपालिकाबाट विनियोजित ४० लाख र गण्डकी प्रदेश भौतिक पुर्वाधार मन्त्रालयबाट विनियोजित २० लाख रुपैयाँ गरि ६० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिनुभयो ।
सडकलाई क्रमश स्तरोन्नति गर्दै कालोपत्रे गर्ने लक्ष्य रहेको वडा अध्यक्ष थापाले बताउनु भयो । सडकलाई मल्मदेखि पाण्डवखानी, रणसिंहकिटेनी, बुर्तिबाङ हुकदै ढोरपाटन जोडने योजना तय गरिएको छ ।
सडकको क्रमिक रुपमा स्तरोन्नति र विस्तारसगै कालोपत्रे गर्न गलकोट नगरपालिका वडा नं ७ को वडा कार्यालय र सामाजिक संस्था घुम्टे युवा परिवारले गत चैतमा सम्पन्न संस्थाको ३४ औं वार्षिकोत्सव तथा होली मेलामा प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री रामशरण बस्नेतलाई आवश्यक बजेट विनियोजन गर्न माग पत्र प्रस्तुत गरेका थिए ।
आगामी आर्थिक वर्षको लागि गण्डकी प्रदेश सरकारले मल्म पाण्डवखानी ढोरपाटन सडकलाई भौतिक पुर्वा्धिर मन्त्रालयले १ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६÷२०७७ को बजेटमा भनें गलकोट नगरपालिकाले यस सडकको मल्म खण्डलाई नगर गौरवको योजनामा समावेश गरेको छैन ।
गलकोट नगरपालिकाले भौगोलिक विकटता र टाढाको दुरीमा रहेको भन्दै सडक क्षेत्रमा पाण्डवखानी गैराभाटी देखि रमुवा सककगको सडक खण्डलाई नगर गौरवको योजनामा समावेश गरि ६० लाख रुपैया बजेट विनियोजन गरेको गलकोट नगरपालिका नगर उपप्रमुख रेनुका काउचा मगरले जानकारी दिनुभयो ।
मध्यपहाडी लोक मार्गले पनि पाण्डवखानीलाई नछोएको र सडकको सहज पहुँचमा उक्त वडालाई जोडन नगरले दुर्गम र टाढाको दुरीमा रहेको वडालाई विशेष प्राथमिकता दिएको नगर उपप्रमुख काउचाले बताउनुभयो ।