नगरपालिकालाई नयाँ भवन हस्तान्तरण

-- धौलागिरी एफएम संवाददाता,म्याग्दी / प्रकाशित मिति : बुधबार, साउन १, २०७६

तत्कालीन जिल्ला भु–संरक्षण कार्यालयका लागि निर्माण भएको भवन बेनी नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
२०७४ असार ५ गतेदेखि सुरु भएको भवन निर्माणकै क्रममा आर्थिक वर्ष २०७५÷७६ देखि कार्यालय खारेज भएको थियो । जसको लागि बनाइएको भवन हो सो कार्यालय नभएपछि आवश्यकताका आधारमा नगरपालिकाले प्रयोग गर्ने गरि हस्तान्तरण गरिएको हो ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (बागलुङ)ले भ्याट बाहेक एक करोड ८० लाख रुपैयाँमा भवन निर्माण गरेको कार्यालयका प्रमुख उमेश चौधरीले जानकारी दिनुभयो ।
तीन तले भवनमा कर्मचारी आवास सहित दश वटा कोठा छन् । अपाङ्गमैत्री भवन भुकम्प प्रतिरोधी क्षमताको भएको इकाईका अधिकृत बद्री गौतमले बताउनुभयो । ओखलढुङ्गा–बि.एम.ए–जयकालिका जेभी बागलुङले अठार महिनामा सम्पन्न गर्ने लक्ष्य सहित ठेक्का लिएको भवन पुरा गर्न छ महिना म्याद थप भएको थियो ।
इकाइका प्रमुख चौधरीले नगर प्रमुख हरिकुमार श्रेष्ठलाई भवन हस्तान्तरण सम्बन्धी कागजात उपलब्ध गराउनु भएको थियो । तत्कालीन सहरी विकास तथा भवन निर्माण विभाग अन्तरगत साविकको बागलुङ स्थित डिभिजन कार्यालयले सुरु गरेको योजना संघीय संरचना अनुसार इकाईलाई हस्तान्तरण भएको थियो ।
नयाँ भवन प्रयोग विहिन बन्ने देखिएको र नगरपालिकालाई आवश्यक परेकाले समन्वय समिति, प्रशासन हुदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्विकृतिमा नगरपालिकाले प्रयोग गर्ने व्यवस्था मिलाएको कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले बताउनुभयो ।
नयाँ भवनमा नगरपालिका अन्तरगत विषयगत शाखा कार्यालय स्थापना गरिने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कृषि, शिक्षा, स्वास्थ्य, पशु सेवा, महिला तथा बालबालिका, सामाजिक विकास लगायत शाखाको कार्यालय नयाँ भवनबाट सञ्चालन गरिने उहाँले बताउनुभयो ।