स्वरोजगार कार्यक्रम मार्फत सडकमा नाली र जाली

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, साउन १, २०७६

प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बागलुङको काठेखोला गाउँपालिकामा परिचालित युवाहरुले सडकमा नाली निर्माण र ग्याबीन जाली भरेका छन् ।

काठेखोला गाउँपालिका–२ भीमापोखरा र ३ धम्जाका युवाहरु सडकमा नाली निर्माण तथा ग्याबिन जाली भर्ने काममा सक्रिय भएका हुन । भीमापोखरा सिम–काप्रे– भुँडीखोला हुँदै सलामसम्मको १९ सय मिटर नाली निर्माण गरेको वडाध्यक्ष विद्यापति शर्माले बताउनुभयो ।
बेरोजगारको सूचीमा रहेका ३२ जनाले नाली निर्माणको साथै ६ स्थानमा ग्याबीन जाली भरेको अध्यक्ष शर्माले बताउनुभयो । नाली निर्माण भएको ठाउँमा सडक सुरक्षित भएको छ सवारी चालक राजेन्द्र पौडेलले भन्नुभयो–‘स्वरोजगार कार्यक्रम राम्रो देखियो ।’

काठेखोलाको अन्य वडामा पनि बेरोजगार व्यक्तिबाट श्रमीक समुह गठन गरी गोरेटो बाटो निर्माण तथा सडकको मर्मत नाली खन्ने, खाल्डा खुल्डी पुर्ने सिंचाईको लागी कुलो मर्मत गर्ने काम अगाडि बढिरहेको छ ।

काठेखोला गाउँपालिका–३ धम्जामा परिचालन भएका युवाहरुले भुते छहरा छेउछाउमा ग्याबीन भर्ने तथा नाली निर्माण गरेका छन् । उकालो बाटोमा सोलिङ्गको काम भएको वडा सदस्य खुमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उता, बढीगाड गाउँपालिकाको दश वटै वडामा परिचालित युवाहरुले गोरेटो बाटो सोलिङ, सिँचाइ कुलो मर्मत मलामीलाई विश्राम स्थलको निर्माण गरेका छन् ।

वडा नं १ को तुम्डाडा स्थित मोटरबाटोको भलले काटेको ठाउँमा पर्खाल लगाइएको र २१ जनाले रोजगार पाएको वडा अध्यक्ष बोम बहादुर थापाले बताउनुभयो । वडा २ मा रिठे राक्से सिंचाइ कुलो मर्मत गरिएको वडा अध्यक्ष हिमा खरेलको भनाई छ ।

यस्तै वडा ३, ५, ६, ७ र ९ मा मलामीहरुका लागि गर्मी बर्षातमा ओत लाग्ने पौवा निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले जानकारी दिए भने वडा नं ४ जलजलाले आख्रेनी लब्धीखोला गोरेटो बाटो सोलिङ्ग गरिएको वडा अध्यक्ष प्रेम गलामीले बताए ।

यस्तै वडा नं १० ले तल्लो गाउँबाट माथिचौरसम्म, निगलपानीको फेँदी देखि तल्लो गाउँको केही भाग सम्म गोरेटो बाटो सोलिङ्ग गरिएको वडा अध्यक्ष वीरेन्द्र बुढा मगरको भनाई छ ।
सरोजगार कार्यक्रमका लागि प्रत्यक वडालाइ २ लाख ६० हजार बिनियोजन गरिएको प्रमुख प्रसासकीय अधिकृत प्रदिप चन्द्र सुवेदीले जानकारी दिनुभयो ।

स्वरोजगार योजना अन्तरगत स्थानीय तहका सडकहरुको नियमित मर्मत सम्भार, स्थानीय तहभित्रका वस्ती, स्वास्थ्य चौकी, विद्यालय, आर्थिक केन्द्र, हाटबजार, धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थल जोड्ने सडक निर्माण तथा मर्मत सम्भार गर्न सकिने व्यवस्था गरेको छ ।