खरको छानो हटाउँदै गाउँपालिका

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, असार २९, २०७६

बागलुङको निसीखोला गाउँपालिकाले गाउँपालिका भित्र खरको छानो हटाउने अभियान संचालन गरेको छ ।

जनता आवास कार्यक्रम अन्तर्गत गाउँपालिकाले गरिव, विपन्न परिवारलाई जस्तापाता उपलब्ध गराएर खरको छानो हटाउने अभियान संचालन गरेको हो ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷०७६ मा सात वटा वडाका ४९ घरमा जस्ता पाताले छानो छाई दिएको छ । खरको छानो परिवर्तनको लागी गाउँपालिको १० लाख विनियोजन गरेको थियो ।

आगमी आर्थिक वर्ष २०७६÷०७७ को १९ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो ।

गाउँपालिकाको ग्रामिण क्षेत्रमा अधिकांश दलित, बिपन्न तथा गरीबीको रेखामुनी रहेका अन्य समुदायको समेत खरका घर छन् । जनतालाई सुुरक्षित घरमा राख्ने अभ्यासमा रहेको जानकारी दिदै गाउँपालिका अध्यक्ष पौडेलले गरिव जनताको चुहिने छानो व्यवस्थापन गर्नू राज्यको दायित्व भएको बताउनुभयो

स्थानीय तहले नै खरको छानो हटाएर टिन लगाउन सुरु गरेपछि गाउँपालिकामा रहेका खरका परम्परागत घर लोप हुने अवस्थामा रहेका छन् । टिन लगाएपछि पटकपटक घर छाइरहनुपर्दैन, त्यसमा जनतालाई सहज हुन्छ । गाउँगाउँमा बर्खा सकिएपछि नयाँ खर काटेर घर छाउने परम्परा छ । अहिले धनीहरूले गाउँमै पक्की घर तथा मध्यमवर्गले टिन लगाएर घर बनाउन थालेका छन् ।