बर्खा सुरु भए पछि ग्रामिण सडकमा सास्ती

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, असार २९, २०७६

मनसुन सक्रिय भएपछि बागलुङका ग्रामिण सडक क्षेद विच्छेद भएका छन् । वर्षाका कारण अधिकांस कच्ची सडकहरूमा कतै पहिरो, हिलाम्य अनि खोल्साखोल्सी बनेपछि यात्रा जोखिमपूर्ण बन्दै गएको छ ।

सडकमा क्षेदविच्छेद भए पछि स्थानीयवासीलाई सदरमुकाम र स्थानीय तहका केन्द्रसम्म आउजाउ गर्न कठिनाए भएको छ । वर्षायाम सुरुसँगै जिल्लाका सबै ग्रामीण सडक आंशिक अवरुद्ध हुने परम्परानै हो ।

वर्खा सुरु भए पछि यातायात संचालन गर्न मुस्किल भएको जानकारी दिदै काठेखोला गाउँपालिका–२ भीमापोखरामा नियमित सवारी चलाउँदै आउनुभएका सवारी चालक राजेन्द्र पौडेलले डकबाट भल बग्दा खोला वा सडक के हो भन्ने फरक छुट्टयाउन मुस्किल भएको बताउनुभयो ।

बर्खाले कच्ची सडकका कतिपय पुरिएका ठाउँ भासिएको र कतिपय ग्यावियन पर्खाल भत्कने, भासिने गरेर बाटो काम नै नलाग्ने भएको अर्का यातायात व्यवसायिक जितबहादुर घर्तीको भनाई छ । जिल्लाका दश वटै स्थानीय तहका केन्द्र जोड्न ग्रामिण सडक वर्खाको पानीले असहज बनाएको छ ।

वर्खाको समयमा हुने सडक विस्तारको कामले थप समस्या हुने गरेको सवारी चालकहरुको भनाई रहेको छ । सडक निर्माण गर्दा नाली, ग्याबीन जस्ता संरचना निर्माणमा ध्यान दिए धेरै हदसम्म सडकलाई सुरक्षित गर्न सकिने चालक पौडेलको भनाई छ । वर्षाले सडकमा क्षति गरे पछि जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य भएका छन् ।