पोखरा –बागलुङ्ग खण्डको यात्रा जोखिमपुर्ण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, असार २९, २०७६

मनसुन शुरुभएपछि मध्यपहाडी लोकमार्गको पोखरा –बागलुङ्ग खण्डको यात्रा जोखिमपुर्ण बन्दै गएको छ ।

स्तरउन्नतीको क्रममा रहेको मध्यपहाडी लोकमार्गमा पर्ने पोखरा –बागलुङ्ग खण्डमा जुनसुकै बेला पनि पहिरो खस्न सक्ने भएकाले जोखिमपुर्ण बनेको हो ।

बर्षा शुरुभएपछि धेरै ठाउँमा पहिरो झरेको छ भने कटान गरिएका भीरहरुमा जुनसुकैबेला पनि पहिरो खस्ने संभावना छ । सडकको पर्वत खण्डमा पर्ने कुस्मा देखि पातीचौर सम्म र डिमुवा देखि नयाँपुल खण्ड तथा कास्कीमा पर्ने नयाँपुल देखि गिरीचोक सम्मको खण्ड पहिरोको उच्च जोखिममा छ । कास्कीको गिरीचोक नजिक निरन्तर पहिरो झरिरहेका कारण समय समयमा यातयात अबरुद्ध भैरहेको छ ।

जुनसुकै बेला पनि माथिबाट पहिरो झर्ने संभावना भएकाले यात्रुलाई सचेत भएर यात्रा गर्न आब्हान गरिएको सडक स्तरउन्नतीको काम गरिरहेको एपेक्स कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर काशीराज बोहराले बताउनुभयो ।

निरन्तर पहिरो झर्ने र सफा गर्न समेत कतिपय अबस्थामा कठिन हुने भएकाले यात्रा गर्दा ध्यान दिन आग्रह गरिएको उहाँले बताउनुभयो । एउटा स्काभेटर तयारी अबस्थामा राखेर पहिरो हटाउने काम भैरहेको बोहराले जानकारी दिनुभयो ।

स्काभेटर तयारी अबस्थामा छ तर कतिबेला पहिरो झर्छ भनेर अनुमान गर्न कठिन भएकाले यात्रीले अगाडी हेरेर पनि जान आवश्यक छ उहाँले भन्नुभयो यात्रुले जोखिम छ भनेर ध्यान नदिदा दुर्घटना नहोस भन्ने तर्फ सचेत हुन जरुरी छ ।

सडकको पर्वत खण्डमा डिमुवाको माहुरीभीर, आम्बोट र भ्याप्लेखोला नजिकको भीर, चुवा नजिकका भीरहरुमा पनि पहिरोको उच्च जोखिम छ । पहिरो गएको अबस्थामा हटाउनका लागि डिमुवा, आम्बोट, कुस्मामा स्काभेटर तयारी अबस्थामा राखिएको लामा कन्ट्रक्सनका प्रोजेक्ट म्यानेजर गोबिन्द भुसालले जानकारी दिनुभयो । गएको बर्ष पनि यी स्थानहरुमा भारी बर्षा हुँदा पहिरो र लेदोका कारण पटक पटक सडक अबरुद्ध भएका थिए ।