जोमसोममा असुरक्षित २ सय केजी मासु नष्ट

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, असार २८, २०७६

मुस्ताङको जोमसोममा असुरक्षित रुपमा ढुवानी गरिएको २ सय केजी बोईलर कुखुराको मासु नियन्त्रणमा लिएको छ ।
पोखराबाट ना ७ ख १४९५ नम्बरको जोमसोम आउने बसको छत माथि राखेर ल्याईएको मासु जोमसोम स्थित काठेपुल नजिक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
मासु धनी प्रहरी सम्र्पकमा नआए पनि बिलमा उल्लेख भए अनुसार मासु राम तामाङको भएको उहाँले बताउनुभयो । सूचना अधिकारी रेग्मीका अनुसार मासुजन्य पदार्थ बस र जीप मार्फत ढुवानी गर्दा आईस बक्स जस्ता सुरक्षित भाडामा राखेर आयात गर्नुपर्ने बताउनुभयो ।
६ वटा चिनीको सेतो बोरामा राखेर ल्याएको उक्त असुरक्षित मासु करिव ६० हजार मुल्यको छ । प्रहरीले असुरक्षित रुपमा ओसार पोसार गरिएको मासुको अनुसन्धान गरी रहेको छ
मासु गाउँपालिका, प्रहरी र पत्रकारको रोहबरमा सुरक्षित स्थानमा खाल्डो खनी नष्ट गरिने सूचना अधिकारी रेग्मीको भनाई छ । मुस्ताङ प्रहरीले २ महिना अघि पनि यस्तै असुरक्षित रुपमा ल्याईएको भन्दै ४ सय केजी बोईलर कुखुराको मासु नियन्त्रणमा लिएको थियो ।