मध्य ताराखोला जलविधुतमा प्रभु बैंकको लगानी, डेढ बर्षमा विधुत उत्पादन

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, असार २८, २०७६

बागलुङको ताराखोलामा निर्माण हुने मध्य ताराखोला जलविधुत आयोजनामा प्रभु बैंकले एकल लगानी गर्ने भएको छ ।
मध्य ताराखोला हाइड्रोपावर प्रा.लि. र प्रभु बैंकबीच शुक्रवार लगानी सम्झौता भएको हो । लगानी सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष शिव गिरी र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्त्ताक्षर गर्नूभएको छ ।
मध्य ताराखोला हाइड्रोपावर प्रा.लि.द्धारा प्रवद्र्धित मध्यताराखोला साना जलविद्युत आयोजना १ दशमलव ७ मेघावाट डेढ बर्षभित्रमा सम्पन्न गर्ने गरी वैंकको केन्द्रिय कार्यालय काठमाण्डौंमा शुक्रबार लगानी संम्झौता भएको कम्पनीका सञ्चालक सदस्य हरिनारायण गौतमले जानकारी दिनुभयो ।
सम्झौतामा कुल लगानीको ८० प्रतिशत वैंकले र २० प्रतिशत प्रवद्र्धक कम्पनीको स्वपुँजी लगानी हुने उल्लेख छ । सो जलविधुत आयोजना सम्पन्न गर्न ३४ करोड लगानी हुने अनुमान गरिएको छ ।
त्यसमध्ये २७ करोड २० लाख बैंकले लगानी गर्नेछ भने ६ करोड ८० लाख स्वपुँजी लगानी हुनेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले आयोजनालाई तोकिएको समयमा नै पारदर्शी रुपमा समपन्न गर्न प्रवद्र्धकलाई आग्रह गर्नूभयो ।
कम्पनीका अध्यक्ष गिरीले आयोजना तोकिएको समय भित्रै सम्पन्न हुने र सवै प्रक्रिया पारदर्शी रुपमा गरिने बताउनुभयो । । कम्पनीका प्रवन्ध संचालक अनिल खड्काले लगानी सम्झौता भएकाले अव कामलाई तिव्रताका साथ अगाडि बढाइने बताउनुभयो ।
स्थानीयवासी धनवहादुर विक ‘हिमाल’ले आयोजना निर्माण हुनु गौरवको विषय भएको वताउदै स्थानीयवासीको अवरोध होईन, साथ र सहयोग हुने प्रतिवद्धता जनाउनुभयो ।
इन्जिनियर अनुप खनालले आयोजनाको क्याचमेन एरिया वन क्षेत्र भएकोले हिउन्दमा पानीको ठुलोे समस्या नहुने र एउटै क्षेत्रमा एकपछि अर्को आयोजना भएकोले प्रशानिक खर्च, प्रशारण लाइन खर्च आदिमा मितव्ययी हुने बताउदै यसलाई क्षमतावृद्धि गरी २.२ मेघावाट बनाईने जानकारी दिनुभयो ।
यो आयोजना बागलुङको ताराखोला गाउपालिका वडा नं ५ निर्माण हुदैछ । यहाँबाट उत्पादित हुने विधुत नेपाल विधुत प्राधिकरणको हरिचौर सवस्टेशन मार्फत राष्ट्रिय प्रशासरण लाईनमा जोडिने छ ।