बागलुङमा विकास बजेट ४० प्रतिशत रकम खर्च

-- धौलागिरी एफएम संवाददाता, बागलुुङ / प्रकाशित मिति : बुधबार, असार २५, २०७६

आर्थिक वर्ष ०७५/७६ सकिन एक हप्ता बाँकी रहँदा बागलुङमा विकास बजेटको ४० प्रतिशत रकम खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङको तथ्याङक अनुसार पुूँजीगत खर्चमा प्रदेश अन्तर्गतका योजनामा अहिलेसम्म ४० प्रतिशत र संघका योजनामा ४२ प्रतिशत रकम खर्च भएको हो ।
केन्द्रिय योजनामा पूँँजीगत खर्चको कुल एक अर्व १९ करोड ८ लाख ३९ हजार रुपैँया मध्य ५० करोड २ लाख १६ हजार रुपैँया मात्र खर्च भएको छ । यस्तै चालु खर्चको कुल ४ अर्व ९७ करोड ६५ लाख ९७ हजार रुपैँया मध्य ४ अर्व ५६ करोड ६४ लाख भन्दा बढी रकम खर्च भएको छ ।
केन्द्रिय योजनामा सबैभन्दा कम नयाँ शहर आयोजना बुर्तिबाङ जम्मा ३ प्रतिशत बजेट खर्च भएको छ । १० करोड ११ लाख रुपैँया मध्य हाल सम्म २२ लाख ८३ हजार रुपैँया खर्च भएको छ ।
यस्तै सबैभन्दा बढी ९१ प्रतिशत रकम भूकम्प पुनःनिर्माण जिल्ला आयोजना कार्यान्वय इकाईले खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । ईकाईल २१ करोड ८५ लाख ७० हजार रुपैँया पूँजीगत बजेट मध्ये हाल सम्म २० करोड ३ लाख ४६ हजार भन्दा बढी खर्च गरेको छ ।
यस्तै प्रदेश अन्तर्गतका योजनाको पूँजीगत तर्फको कुल एक अर्ब १५ करोड ८९ लाख २१ हजार रुपैँयाँ मध्य हालसम्म ४४ करोड ४५ लाख ५ हजार रुपैँया खर्च भएको छ । यस्तै चालु खर्चको कुल ४० करोड ७७ लाख ९५ हजार रुपैँयामा ३० करोड ९ लाख ५२ हजार रुपैँया सकिएको छ ।
यसरी प्रदेश योजनामा चालु तर्फ ७४ प्रतिशत र पूँजीगतको ४० प्रतिशत रकम मात्र खर्च भएको हो । प्रदेश योजना मध्य सडक डिभिजन कार्यालयको काम शुन्य छ । ५ करोड २६ लाख ५७ हजार पुँजीगत बजेट रहेकोमा अहिलेसम्म एक रुपैँया बजेट पनि खर्च नगरेको बताइएको छ ।
यस्तै भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ८५ प्रतिशत, डिभिजन बन कार्यालयले ४७ प्रतिशत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले ४६ प्रतिशत रकम खर्च गरेको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख केशवराज ढकालले जानकारी दिनुभयो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख ढकालले अख्तियारी ढिलो प्राप्त हुनु, स्थानीय तहमा काम गर्ने कर्मचारीको अभावले गर्दा समस्या भएको बताउनुभयो । विगतको तुलनामा यस वर्षबढी बजेट फ्रिज हुने उहाँको भनाई छ ।
जिल्लामा सञ्चालित ४ वटा आयोजना मात्रै तोकिएको समयभन्दा अगावै सम्पन्न भएर बोनस प्राप्त गरेका छन् । भवन निर्माण अन्तरगतका ४ योजना तोकिएको समय अगावै सकिएका हुन् । जिल्लामा ४५ वटा योजनाको ठेक्का दिईएकोमा म्याद थप गरि यस आर्थिक वर्षमा १३ वटा ठेक्का सम्पन्न भएका छन् भने २८ वटा ठेक्काको म्याद थप गरि निर्माणाधीन अवस्थामा छन् ।