पाइपलाइनमा क्षति पुगेपछि खानेपानीको हाहाकार

-- धौलागिरी एफएम संवाददाता,म्याग्दी / प्रकाशित मिति : शनिबार, असार २१, २०७६

बेनीमा खानेपानीको हाहाकार
सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति पुगेपछि बेनी बजारमा खानेपानीको हाहाकार भएको छ ।
बेनी(जोमसोम सडकको गलेश्वरदेखि राहुपारे खण्डको सडक विस्तारका क्रममा डोजरले पाइपलाइन फुटाइदिएपछि दैनिकजसो खानेपानी आपूर्ति अवरुद्ध भएको हो ।
निर्माण कम्पनीले समन्वय नगरी जथाभावी डोजर चलाउँदा पाइप भाँचिने र फुटेर पानी आपूर्ती अवरुद्ध भएको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुवासकुमार श्रेष्ठले बताउनुभयो । एक महिनायता बेनीमा नियमित खानेपानी आपूर्ति हुन सकेको छैन् ।
’डोजरले पाइप फुटाएर हैरान भएको छ,’ उहाँले भन्नुभयो, ’समन्वय र बैकल्पिक व्यवस्था नगरी सडक विस्तार गर्दा बेनीमा खानेपानीको हाहाकार भएको हो ।’ खानेपानी आपूर्ति अवरुद्ध हुँदा बेनीका सर्वसाधारण र होटल व्यवसाय समस्यामा परेका छन् । ट्याङ्करबाट खानेपानी ल्याएर उपभोग गर्नुपर्ने अवस्था आएको स्थानीय कुलदिप जुग्जालीले बताउनुभयो ।
खाना पकाउन र शौचालय जानका लागि समेत जार र बोत्तलको पानी किन्नु परेको होटल व्यवसायी शिशिर शाहीले बताउनुभयो । एक हजारभन्दा धेरै घरधुरी रहेको बेनी बजारमा प्रतिसेकेण्ड २५ लिटर खानेपानी आवश्यक पर्ने संस्थाका प्रबन्धक चन्द्रबहादुर थापाले बताउनुभयो । संस्थाले पुम्दीखोला र दुधेखोलाको मुहानबाट पानी ल्याएर बेनीमा वितरण गर्दै आएको छ ।
’पहिरोले पाँच सय मिटर पाइप बगाएपछि एक वर्षयता दूधेखोलाको मुहानबाट खानेपानी आपूर्ति हुनसकेको छैन,’ थापाले भन्नुभयोे । पुम्दीको बैकल्पिक स्रोत दूधेखोलाबाट प्रति सेकेण्ड तीन लिटरका दरले पानी आपूर्ति हुने गरेको थियो ।
बेनी (जोमसोम (कोरला सडक आयोजनाअन्तरगत गलेश्वरदेखि राहुपारे खण्डको चार किलोमिटर दूरीमा शर्मा (युनाइटेड जेभीले विस्तारको काम गरिरहेको छ । सडक छेउमा पाइपलाइन राखेर बेनीमा पानी आपूर्ति गरिँदै आएको छ ।
हाल ६ मिटर चौडाइ भएको सडकलाई विस्तार गरेर ११ मिटर फराकिलो बनाउन लागिएको हो। खानेपानी आपूर्तिलाई सहज र सडक निर्माणलाई व्यवस्थित बनाउन बिहीबार जिल्ला प्रशासन कार्यालयमा आयोजना, निर्माण कम्पनी, संस्था र प्रशासनबीच छलफल भएको थियो ।
खानेपानी आपूर्तिलाई असर नपुग्ने गरेर सडक विस्तारको कामलाई अघि बढाउने समझदारी भएको बेनी खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो ।
शर्मा युनाइटेड जेभीका आयोजना व्यवस्थापक बलराम अर्यालले सम्झौता र डिपिआरमा पाइपलाइन व्यवस्थापन गर्ने गर्ने विषय उल्लेख नभएकाले कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।