पर्वतको भमरकोट हुँदै नयाँ बैकल्पिक पदमार्ग निर्माण

-- धौलागिरी एफएम संवाददाता, पर्वत / प्रकाशित मिति : बिहिबार, असार १९, २०७६

पर्वतको मोदी गाउँपालिकामा पर्ने रमणीय स्थल भमरकोट हुँदै घोरेपानी सम्म बैकल्पिक पदमार्ग निर्माण शुरु भएको छ ।

बिश्वकै उत्कृष्ट पदमार्गमा सुचिकृत अन्नपुर्ण पदमार्गमा सडक बनेपछि बैकल्पिक पदमार्गको रुपमा भमरकोट – घोडेपानी पदमार्ग निर्माण शुरु गरिएको हो । मोदीको तिलाहारबाट सुरु हुने पदमार्ग घोडेपानी पुग्न २१ किलोमिटर लामो छ ।

बिरेठाँटी – घोरेपानी पदमार्गमा नजिकै पर्ने पर्वतको नयाँपुल देखि देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदयात्रा निर्माण भैरहेको भमरकोट पर्यटन बिकास समितिका अध्यक्ष मनबहादुर खड्काले बताउनुभयो ।

भमरकोट संगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर गाउँहरु भूकदेउराली, ताङ्गले, लप्सीबोट, देउपुर, पुर्णगाउँ, लेस्पार, घुरुङ्गा लगायतका ठाउँमा घरबास(होमस्टे) सेवा सञ्चालन गरि प्रमुख पर्यटकीय गन्तब्य बनाउने गुरुयोजना बनाउने काम भैरहेकोे बताइएको छ ।

घोरेपानी र घान्द्रुक पुग्ने पदयात्रा मार्गमा सडक बनेपछि धुलोका कारण उनीहरुले सडकले नछोएको र हिमाल सहित दृश्यावलोकन गर्न सकिने भमरकोट आउने अवस्था बन्न सक्ने देखिएको छ ।

भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा कहिल्यै पनि सडक नपुग्ने भएकाले यो राम्रो पर्यटकीय गन्तब्य बन्न सक्ने जानकारी दिदै उहाँले यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्ने भएकाले पोखरासंग यसलाई जोडेर पर्यटकीय पुर्वाधार बनाउने योजना अघि सारिएको बताउनुभयो ।

अहिले देउपुरदेखि भमरकोट हुँदै घोरेपानी पुग्न ११ किलोमिटर पदमार्ग निर्माण भैरहेको बताइएको छ । संघीय सरकार र प्रदेश सरकारले यस बर्ष पनि बजेट बिनियोजन गरेको जनाइएको छ । यस बर्ष पदमार्ग निर्माण सक्ने लक्ष्य पुरा गर्न कठिन भएपनि एक दुई बर्षभित्र पुरा गर्ने अध्यक्ष खड्काको भनाई छ ।