पचास ठाउँको उपनिर्वाचन कार्तिकमा

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : बिहिबार, असार १९, २०७६

निर्वाचन आयोगले जनप्रतिनिधि विहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा कार्तिक मसान्तमा उपनिर्वाचन गराउने लक्ष्य सहित तयारी अघि बढाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई उपनिर्वाचनका लागि तयारी अघि बढाउन निर्देशन दिएपछि आयोगले उपनिर्वाचनको खाका बनाउने कार्यलाई अघि बढाएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार, आयोगले जनप्रतिनिधि रिक्त रहेको संघ, प्रदेश र स्थानीय तहका निर्वाचन क्षेत्रको तथ्यांक संकलन गरेको थियो । संघमा १, प्रदेशमा ३ र स्थानीय तहतर्फ ३ प्रमुख र ४३ वडा अध्यक्षको लागि उपनिर्वाचन गराउनुपर्ने रहेको बताइएको छ । त्यसैगरी, नगरप्रमुख १, गाउँपालिका अध्यक्ष २ रिक्त रहेका छन् ।

सुनसरीको धरान उपमहानगरपालिका प्रमुख तारा सुब्बा, संखुवासभा मकालु गाउँपालिका अध्यक्ष खड्गबहादुर कटुवाल र पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष अम्बर नेम्बाङको निधन भएकोले ती स्थान रिक्त भएको हो । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि उनी निर्वाचित भएको कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ खाली भएको हो ।

यस्तै प्रदेशसभातर्फ हरिशरण लामिछानेको मृत्युका कारण भक्तपुरको १ ‘क’, उत्तरकुमार वलीको निधनका कारण दाङ ३ ‘ख’ तथा टेकबहादुर घर्तीको निधनका कारण बागलुङ २ ‘ख’ रिक्त छन् । निर्वाचन बहिष्कार गरेका कारण सोलुखुम्बुको तिङलामा सबै पद रिक्त छन् । साथै अन्य स्थानीय तहतर्फ वडाध्यक्षतर्फ ४३ पद रिक्त रहेका छन् ।

अहिले वर्षातको समय भएको र त्यसपछि विभिन्न चाडपर्व शुरु हुने भएकाले कात्तिक मसान्तभित्र उपनिर्वाचन गर्नेगरी तयारी गरिरहेको प्रमुख आयुक्त थपलियाले बताउनुभयो । स्थानीय तहका हकमा वडाध्यक्षको उपनिर्वाचन गराउने कानुनी व्यवस्था नै थिएन । हालसालै स्थानीय तह निर्वाचन ऐन संशोधन गरी त्यसको व्यवस्था गरिएको छ ।

आयुक्त इश्वरीप्रसाद पौडेलले स्थानीय तहको उपनिर्वाचनको मिति तोक्ने जिम्मेवारी सरकारको भएकाले तोकिएको मितिमा निर्वाचन गराउन आयोग तयार रहेको जानकारी दिनुभयो । स्थानीय तहको पदावधि लगभग तीन वर्षभन्दा बढी बाँकी छ। कानुनले एक वर्षभन्दा कम पदावधि बाँकी रहेको अवस्थामा उपनिर्वाचन नगराउने संविधानमा उल्लेख गरिएको छ ।